काठमाडौँ – कोरोना संक्रमणका कारण गत चैतमा निर्धारित उद्योग वाणिज्य महासंघको चुनाव पटक–पटकको स्थगनपछि मंसिर १२ गते गर्ने प्रस्ताव गरिएको छ । शुक्रवार बसेको महासंघ पदाधिकारी बैठकले मङ्सिर ११ र १२ मा महासंघको ५४औं साधारणसभा तथा नयाँ नेतृत्वका लागि चुनाव गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


पदाधिकारी बैठकले पारित गरेको चुनावको मिति महासंघको कार्यसमिति बैठकमा अनुमोदनका लागि पेश गरिनेछ । अशोज दोस्रो साता बस्ने कार्यसमिति वैठकले यसलाई अनुमोदन गर्ने महासंघले जनाएको छ ।


ADVERTISEMENT

# # #


चुनावको मिति तय भएपछि महासंघले सरकारसँग साधारण सभाका लागि अनुमति लिने प्रक्रिया पनि अघि बढाएको छ । महासंघका उपध्यक्ष चन्द्र ढकालले कार्यसमिति वैठकअगावै सरकारसँग साधारण सभाका लागि अनुमति लिइने जानकारी दिए ।

यसअघि निर्धारित समयमा चुनाव हुन नसकेपछि महासंघभित्र आन्तकिर किचलो बढेको थियो । कोरोनाकै अवधिमा चुनाव गर्ने र नगर्ने दुई कित्तमा महासंघ बाँडिएपछि चर्किएको विवाद समाधानका लागि साउन २२ को महासंघ कार्यसमिति वैठकले चुनाव कसरी गर्न सकिन्छ भन्ने मोडालिटी बनाउन समिति गठन गरेको थियो । उक्त समितिले तीन वटा मोडालिटीको प्रस्ताव गरेकोमा अशोज दोस्रो साताको कार्यसमिति वैठकले तीनमध्ये एक मोडालिटीलाई अनुमोदन गर्नेछ ।

चुनावको मोडालिटी बनाउन रञ्जित आचार्य, भरत आचार्य, सुनील गोपाल श्रेष्ठ, अरुण सुमार्गी, विनोद ढकाल र डीबी बस्नेतको नेतृत्वमा बनेको उक्त समितिले कोरोनाको जोखिम कम भएपछि तीन तहकै चुनाव काठमाडौंमै गर्न सकिने, दूरी कायम गरेर वस्तुगत एवम् एशोसिएटको चुनाव काठमाडौंमा तथा जिल्लानगरको चुनाव जिल्लामै गर्न सकिने तथा विद्युतीय मतदान गरी तीनओटा मोडालिटी तयार पेश गरेको थियो ।

महासंघको आगामी नेतृत्व शेखर गोल्छाले थाम्ने पक्का भएपनि वरिष्ठ उपाध्यक्ष र ३ उपाध्यक्षको छनोट चुनावबाट हुनेछ । वरिष्ठ उपाध्यक्षका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधानले आआफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । ढकालको प्यानलबाट वस्तुगतको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघाई र जिल्लानगरमा गुणनिधि तिवारी चुनावी मैदानमा उत्रिएका छन् भने प्रधान प्यानलमा वस्तुगततर्फ अञ्जन श्रेष्ठ, एशोसिएटर्फ सौरभ ज्योति र जिल्ला नगरतर्फ दिनेश श्रेष्ठ प्रतिस्पर्धा गर्दैछन् ।