डोटी – जिल्लामा पसलैपिच्छे एलपी ग्याँसको फरक मूल्य लिने गरेको पाइएको छ । यहाँका ग्याँस डिलरमा एक मूल्य तथा सबडिलरमा अर्को मूल्य लिई ग्यास बिक्री वितरण गरिन थालेको उपभोक्ताको गुनासो रहेको छ ।


ADVERTISEMENT


यसरी ग्यास पसलैपिच्छे फरक मूल्य लिइन थालेपछि उपभोक्ताहरु मारमा पर्न थालेका छन् । जिल्लाको दिपायल, सिलगढी, राजपुर तथा पिपल्ला बजारमा खाना पकाउने एलपी ग्याँसमा रकम बढी लिई ग्यास बिक्री वितरण गर्ने गरेका कारण उपभोक्ता ठगिँदै आएको शिखर नगरपालिका–२ कालागाढका स्थानीय हर्कबहादुर साउदले बताए। उनले भने, ‘डिलर सबडिलरमै ग्याँसको मूल्य फरक छ जसले गर्दा हामी उपभोक्ता मारमा परेका छौँ, हाम्रो मर्का कसले बुझ्ने ?’


ADVERTISEMENT

# # #


जिल्लामा पाउने भेरी तथा रेडिएन्ट ग्याँसको मूल्य ग्यास कम्पनी अर्थात् ग्याँस प्लान्टले रु एक हजार ३१३ मा सम्बन्धित डिलरमा आपूर्ति गर्ने गरेको जनाएको छ । यहाँका ग्याँस डिलरले थोक बिक्रीमा उक्त ग्याँस रु एक हजार ४५० लिने तथा फुटकरमा रु एक हजार ५०० लिने गरेको तथा सोही ग्यास सबडिलरबाट उपभोक्ताले किन्दा रु एक हजार ६०० सम्म लिने गरेको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका स्थानीय हरि विकले बताए । उनले भने, ‘ग्याँस कम्पनीले सरकारले तोकेको मूल्यमा दिने तर डिलर र सबडिलरले सरकारले तोकेकै मूल्यमा दिनुपर्ने ठाउँमा बढी मूल्य लिएर बिक्री गर्ने गर्छन्, यो विषयमा कसैले पनि चासो देखाएका छैनन् ।’ ग्याँस विक्रेताले फरक मूल्यमा ग्यास बिक्री वितरण गरिरहेको जानकारी पाए पनि सम्बन्धित निकायले यो विषयमा कुनै जानकारीसम्म लिने नगरेको स्थानीय उपभोक्ताको गुनासो छ । रासस