काठमाडौँ – बन्धक बनाइ रकम असुल्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मलेसियास्थित टप ग्लोभ कम्पनीमा नेला कर्नर क्यान्टिन संचालन गरी बस्ने मोरङका डेभिड भनिने ४४ वर्षीय दुर्गा बहादुर श्रेष्ठलाई काठमाडौँबाट पक्राउ गरिएको हो ।


ADVERTISEMENT


दुर्गाको योजनामा उनकै श्रीमती धनमाया श्रेष्ठ तथा चालक श्याम नेपालीले मलेसियामै काम गर्ने दाङ पहरुवा बस्ने एक व्यक्तिलाई अपहरण गरी ७ दिन बन्धक बनाएका थिए । साथै ती व्यक्तिकी श्रीमतीलाई श्रीमानको ज्यान मार्ने धम्की दिई पटक पटक गरी १५ लाख ९२ हजार रुपैयाँ समेत फिरौती लिएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको थियो । दुर्गाले ती व्यक्तिको राहदानी पनि कब्जामा लिई उनलाई बन्धक बनाएर राखेको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको थियो । सोही क्रममा दुर्गा नेपाल आएको गोप्य सूचनाका आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले दुर्गालाई पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


दुर्गाले कामदारहरुलाई धम्काई रकम असुल गर्ने तथा कुटपिट गरी गुण्डागर्दी गर्ने गरेको खुल्न आएको उक्त व्यूरोले जनाएको छ । यस घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।