दमौली – व्यास नगरपालिका–५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा बस्दै आएकी विमला भट्टराईलाई आफ्नो नाम लेख्न आउदैँनथ्यो । हालसम्म किताब नछेएकी उनले नाम लेख्नु त परको कुरा, अक्षर चिन्न पनि मुस्किल थियो । पैसट्ठी वर्षीया भट्टराईले सामाजिक सुरक्षा भत्ता लिन बैङ्कमा जाँदा औठाछाप लगाउँथिन् ।


ADVERTISEMENT


तर अब उनलाई बैङ्कमा गएर औँठाछाप लगाउनुपर्दैन, उनले प्रष्टसँग आफ्नो नाम लेख्न सक्ने भएकी छन् । “अब त बैङ्कमा जाँदा औँठाछाप होइन, आफ्नै नाम लेख्ने हो”, उनले भनिन्, “आफ्नो नाम आफैँले लेख्न सक्ने हुँदा साह्रै खुशी लागेको छ ।”


ADVERTISEMENT

# # #


रोटर्‍याक्ट क्लव अफ वेदव्यास र इनरह्विल क्लब अफ दमौलीले ज्येष्ठ नागरिक आमाहरुलाई लक्षित गरी सञ्चालन गरेको साक्षरता अभियानमार्फत उनले आफैँले नाम लेख्न सक्ने भएकी छन्। “सिकाइको उमेर हुँदैन” भन्ने नारा सहित क्लबले यही असोज ६ गतेदेखि आश्रममै साक्षरता अभियान सञ्चालन गरेको थियो । क्लबले सञ्चालन गरेको उक्त अभियानमार्फत १० जना प्रशिक्षित भएका छन् ।

रोटर्‍याक्ट क्लब अफ वेदव्यासकी अध्यक्ष सन्जु घलेले साक्षरता अभियानमा सहभागी कतिपय आमाहरुले नेपालीमा नाम लेख्न पहिल्यै जानेको भए पनि अङ्ग्रेजीमा पनि लेख्न सक्ने भएको जानकारी दिइन् । “अधिकांशले पहिलो पटक आफैँले नाम लेख्न सक्ने हुनुभएको छ, केहीले पनि अङ्ग्रेजीमा पनि नाम लेख्न सिक्नुभयो”, घलेले भनिन् ।

व्यास –५ कै आमाहरुलाई लक्षित गरी सञ्चालन गरिएको उक्त अभियानमा आश्रमका दुई जना र अन्य आठ जना सहभागी भइन् । स्थानीय मिठु केसी, हरिमाया थापा, मनमाया श्रेष्ठ, नमून थापा लगायतले बुढ्यौली उमेरमा केही दिन भए पनि पढ्न पाउँदा खुशी लागेको बताइन् ।

क्लबकी अध्यक्ष घलेका अनुसार साक्षरताको अभियानको पहिलो भाग समापन भएको र पुनः यस्तै कार्यक्रम सञ्चालन गरिने जानकारी दिइन् । यस अभियानका क्रममा दैनिक दिउँसो ४ बजेदेखि ५ः३० बजेसम्म कक्षा सञ्चालन गरिएको थियो । क्लबकै सदस्यहरुले आमाहरुलाई अक्षर चिनाउन सहजीकरण गरेकी थिए। वेदव्यास ज्येष्ठ नागरिक आश्रमकी सचिव निर्मला मल्लले बुढ्यौली उमेरमा पहिलो पटक अक्षर चिन्न पाउँदा महिलाहरु खुशी भएको जानकारी दिए ।

युवाले श्रमदान गरेर बनाए खेलमैदान

बन्दीपुर गाउँपालिका–५ कल्चोकका युवाहरुले श्रमदान गरेर खेलमैदान निर्माण गरेका छन् । स्थानीय टिकामाया सारु र रेशम सारुले खेलमैदान निर्माणका लागि पाँच वर्षका लागि जग्गा उपलब्ध गराएपछि युवाहरुले खेलमैदान निर्माण गरेका हुन् ।

स्थानीय युवा खेलतर्फ आकर्षित भएसँगै बन्दीपुर–५ का वडा सदस्य मदन पाटाको समन्वयमा कल्चोकमा खेलमैदान निर्माण गरिएको छ । खेलमैदान निर्माणका लागि जनप्रिय बाल क्लबका युवाले श्रमदान गरेका छन् । खेलमैदानको काम लगभग सकिएको वडा सदस्य पाटाले जानकारी दिए ।

“खेलमैदान निर्माणका लागि जग्गा थिएन, स्थानीय आमा छोराले पाँच वर्षका लागि चार रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभयो,” उनले भने, “सोही जग्गा सम्याएर खेलमैदान निर्माण गरेका छौ, बाल क्लवका २० भन्दा बढी युवाले दैनिक श्रमदान गरेका छन् ।” खेलमैदान निर्माणका लागि याम्पा सामुदायिक वनले रु ५० हजार सहयोग गरेको थियो ।

यहाँका युवा फुटबलतर्फ आकर्षित छन् । फुटबल खेल्नका लागि पर्याप्त जग्गा नहुँदा भञ्ज्याङमा सानो मैदानमा युवाहरु फुटबल खेल्दथे । “सानो मैदान थियो, त्यही थोरै समूह बनाएर फुटबल खेल्ने गर्थे,” उनले भने, “अब त मैदान पनि ठूलो भयो ।”