– गोगन बहादुर हमाल

   महानिर्देशक, यातायात व्यवस्था विभाग

विभागको पछिल्लो गतिविधिहरु बताईदिनुस् न ?


ADVERTISEMENT


कोरोनाको महामारी शुरु भएदेखि लामो बन्दाबन्दीपछि असोज १ गतेबाट लामो, छोटो र मध्यम दूरीका सार्वजनिक यातायात सञ्चालनमा आएका छन् । यातायात खुलेपछि कोरोनाको जोखिम पनि बढेको छ ।


ADVERTISEMENT

# # #


यतिवेला स्वस्थ्य मापदण्डलाई प्रभावकारी रुपमा लागू गर्ने होम्रो मुख्य दायित्व हो । हामी विशेषतः यसैमा केन्द्रित भएर काम गरिरहेका छौँ । स्वास्थ्य मापदण्ड बनाएर स्थानीय निकाय, प्रदेश र सुरक्षा निकायसँग समन्वय गरी कार्यान्वयन गरेका छौँ ।

यतिवेला बाहिरी जिल्लामा जान सकेका छैनौँ, तर उपत्यकामा निरन्तर अनुगमन गरिरहेका छौँ ।

दसैँ तिहार आउन थाल्यो, यो सबैभन्दा बढी चहलपहल हुने समय हो । काठमाडौँबाट ठूलो संख्यामा नागरिकहरु जिल्ला फर्किन्छन् । त्यसका लागि नागरिकको अवागमन सहज बनाउने कामहरु गरिरहेका छौँ । व्यवसायीसँग कुरा गरेर आगामी सातादेखि अग्रिम टिकट खुलाउने भनेका छौँ । ६ महीनादेखि यातायात नचलेका कारण र थुप्रै चालक सहचालक पनि घर गएर काममा नफर्किएको अवस्था छ । यस्तो अवस्थामा गाडीको अभाव नहोस् भनेर त्यसको व्यवस्थापनाको प्रयास भइरहेको छ । अनलाइन टिकट शुरु गर्दैछौँ, जसका लागि हामीले सफ्टवेयर बनाइसकेका छौँ । केही दिनमा सफ्टवेयर सार्वजनिक गरेर सबै सार्वजनिक यातायातलाई सफ्टवेयरसँग जोड्छौँ ।

यातायात सञ्चालनका लागि व्यवसायीहरुले राहत माग गरिरहेका छन्, विभागले व्यवसायीका समस्यालाई कसरी सम्बोधन गरिरहेको छ ?

व्यवसायीहरुका धेरै माग छन् । स्वभाविक मागहरु छन् ।

राष्ट्र बैंक र अर्थ मन्त्रालयले कोरोनापछि धरासयी यस्ता व्यवसायलाई कसरी उठाउन सकिन्छ भनेर कार्यविधि बनाएर अघि बढेको छ । व्यवसायीलाई सस्तो ब्याजदरमा किस्ता उपलब्ध गराउने, किस्ता अवधि सारिदिने जस्ता कामहरु भएका छन् ।

जिल्लाका सवारी हेर्ने जिम्मेवारी प्रदेश सरकारले पाएपनि अन्तरजिल्ला यातायात विभागले हेरिरहेको छ । जिल्लाका सवारीमा प्रदेश सरकारले विभिन्न राहत प्याकेजहरु ल्याएका छन् । अन्तरजिल्ला चल्ने सवारीलाई आवश्यक राहत प्याकेज ल्याउने योजना विभागले बनाएको छ । चालक-सहचालकको ५० प्रतिशत बीमा सरकार र ५० प्रतिशत सवारी मालिकले गरिदिने सम्झौता भएर त्यसअनुसार काम पनि भइरहेको छ ।

उसो भए दसैँ तिहारमा यातायातको असुविधा हुँदैन ? यातायात सहज सञ्चालन हुन्छ ?

पहिलाको जस्तो धेरै नागरिक यसवेला आवातजावत गर्दैनन् भन्ने हाम्रो अनुमान छ । कोरोनाका कारण अत्यावश्यक काम बाहेक आवातजावत अत्यावश्यक कम हुने भएकाले त्यस्तो भिड हुँदैन । सरकारले पनि सकभर जहाँ छौँ त्यहीँ दसैँ मनाउन भनेको छ । भिडभाड नभएपनि यात्रा भने गर्छन् मान्छेहरुले ।

समस्या नहोस्, यातायातको अभाव नहोस् र स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित रुपले यातायात चलोस् भनेर सहज ढंगले यातायात व्यवस्थापनका लागि काम गरिरहेका छौँ ।

यातायात सञ्चालनमा आएपनि जोर विजोर प्रणाली अझै लागू भइरहेको छ । यसलाई सहज बनाउन विभागले के गर्दैछ ?

अहिले काठमाडौँ उपत्यकाको यातायातको जिम्मेवारी प्रशासनलाई दिइएको छ , विस्तारै सहज बनाउनुपर्छ । प्रशासनले यसमा काम गर्दै होला । उपत्यकाको जोर विजोर प्रणाली हटाउनुपर्छ ।

तपाईँकै कार्यकालमा ठूलो महामारी आएर यातायात ठप्प भयो । व्यवसाय धरासयी बन्यो भन्ने गुनासो व्यवसायीहरुको छ । यसलाई माथि उठाउनका लागि कस्तो योजना बनाउनुभएको छ ?

हामीले थुप्रै नीतिगत सुधार गरेका छौँ । लामो तथा मध्यम दूरीको यातायात एक ढंगले र अन्य सहरी यातायात अर्को ढंगले व्यवस्थापन गर्ने भनेका छौँ ।

सहरी यातायातका लागि सार्वजनिक सहरी यातायात प्राधिकरण विधेयक बनाएर यातायात व्यवस्थापन गर्ने तयारी भइरहेको । त्यसपछि प्राधिकरणले नै सार्वजनिक यातायात चलाउँछ, व्यवसायीले आफै चलाउन पाउँदैनन् । सबै व्यवस्थापन प्राधिकरणले गर्छ । व्यवसायीको काम मात्र जुन जुन रुट दिइएको छ कति कति मिनेटको अन्तरमा छोड्ने भन्ने हुन्छ । यसले नागरिकले यातायातको सहज सुविधा पनि पाउँछन् र अस्वस्थ प्रतिस्पर्धा पनि हुँदैन ।

जनताको गुनासो सुनिँदैन भन्ने आरोप तपाईहरुलाई लाग्ने गरेको छ नि ?

ट्राफिक प्रहरीले गुनासो सुनिरहेको छ । विभागले पनि हटलाइन नम्बर बनाएर जनताको गुनासो सुन्ने तयारी गरेको छ ।

अन्त्यमा के भन्नुहुन्छ ?

कोरोनापछि आर्थिक सामाजिक क्षेत्रमा ठूलो प्रभाव परेकाले यससँगै लडेर अघि बढ्नुपर्ने चुनौती हामीहरुलाई छ । यसका लागि सार्वजनिक यातायात सञ्चालन हुनुपर्छ । यसका लागि सबैले सुरक्षित भएर मात्र यात्रा गर्न र व्यवसायीलाई पनि स्वास्थ्य मापदण्डहरु कडाइका साथ अनिवार्य पालन गर्न आग्रह गर्दछु ।