हेटौँडा – वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सङ्घीयतालाई सर्वमान्य बनाउन कानूनी पक्षलाई पनि सुदृढ बनाउन आवश्यक रहेको बताएका छन् । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको वार्षिक समीक्षा बैठककलाई आज हेटौँडामा सम्बोधन गर्दै उनले संघीयताको सफल कार्यान्वयनबाट मात्र लोकतन्त्र बलियो हुन्छ भने ।


ADVERTISEMENT


उनले जनप्रतिनिधले विकासको पूर्वाधार भन्नाले डोजरद्वारा सडक निर्माण गर्ने भन्ने बुझाइलाई त्याग्न र जनतालाई प्रत्यक्ष लाभ पुग्ने पूर्वाधार तयार गर्न आग्रह गरे । मुख्यमन्त्री पौडेलले वडा समितिमार्फत सिफारिस गरिएका योजनालाई प्रभावकारी कार्यान्वयन गर्न स्थानीय निकायलले जोडदिनुपर्छ भने । उनले झोलुङ्गे पुल, कृषि सडक, सिँचाइ, तटबन्धनको निर्माण, ग्रामीण विद्युतीकरण र वातावरण सुधारको पक्षमा प्रदेश सरकारले पनि आफ्नो सीमित स्रोत साधन परिचालन गर्ने उल्लेख गरे ।


ADVERTISEMENT

# # #


सो अवसरमा प्रदेशसभाका सदस्यद्वय प्रेमबहादुर पुलामी र सन्तबहादुर प्रजाले विपन्न जनताको आयआर्जन हुने कार्यक्रम बनाउन जोड दिए। उनीहरुले पूर्वाधारका योजनालाई निश्चित समयमा सम्पन्न गर्नेतर्फ स्थानीय जनप्रतिनिधिको भूमिक सशक्त हुनुपर्ने बताए ।

जिसस प्रमुख रघुनाथ खुलाल र उपप्रमुख भगवती पुडासैनीले योजनाको सफल कार्यान्वयनबाट मात्र जनताको समृद्धि हुने विचार व्यक्त गरे । राष्ट्रियसभाका सदस्य रामचन्द्र राईले कोमिड–१९ सङ्क्रमणको जोखिमबाट जनतालाई जोगाउन स्थानीय जनप्रतिनिधि भूमिक अहं रहने बताए ।

सो अवसरमा कोरोना जोखिम हुन नदिन उल्लेखनीय योगदान वापत विभिन्न सङ्घसंस्थालाई प्रशंसा पत्र प्रदान गरिएको थियो । प्रशंसापत्र पाउनेमा जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका स्वास्थ्य निरीक्षक भोला चौँलागाई, हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रविण श्रेष्ठ, स्थानीय समाजसेवी नारायण थिङ, उद्यमी ऋषिराम घिमिरे, यातायात व्यवसायी बद्रीप्रसाद चौलागाईँ र श्री कृष्ण प्रणामी सेवा समितिको तर्फबाट केदार चौलागाईंलगायत थिए ।

समीक्षा बैठकमा हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिकाका प्रमुख तथा उपप्रमुख सहित आठ गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षको सहभागिता रहेको छ ।