– दामोदर देवकोटा

विश्व कोभिड–१९ को महामारी विरुद्ध लडिरहेको छ । यो महामारीले विश्वका विकसित राष्ट्रलाई समेत हम्मेहम्मे पारिरहेको समाचारहरु आइरहेका छन र यसले विश्व नै आतंकित बनेको छ । हाम्रो देशमा पनि २०७६ चैत्रदेखि नेपाल सरकारले विभिन्न उपायहरु अपनाइ कोरोना रोकथाममा पहल गरिरहेको समाचारहरुप्रशस्तै आएका छन । नेपाल एक अति कम विकसित राष्ट्र भएको र गरिवीको संख्या १८ प्रतिशतको हाराहारी र बेरोजगारी संख्या बढी रहेकोले कोरोना रोकथाममा सरकारलाई असहज परिस्थिती हुनु स्वभाविक हो ।


ADVERTISEMENT

# # #


आ.ब. २०७७/७८ को नीति कार्यक्रम तथा बजेट बनाउने बेला नै नेपालमा कोरोना महामारी हुन्छ भन्ने अनुमान सरकारी संचार माध्यमबाट प्रशारण भइरहेका थिए । देश बन्दाबन्दीमा थियो । सरकारी अस्पतालहरुको सेवा प्रवाह नाजुक थियो । प्राईभेट अस्पताललाई हेर्ने दृष्टिकोण कम्यूनिष्ट सरकारको फरक थियो र छ । यस्तो अवस्थामा कोरोना रोकथामका लागि समाजवाद उन्मूख सरकारको ध्यान कम भएको हो भन्दा अतियुक्ति नहोला किनकी समाजबादमा शिक्षा र स्वास्थ्य सबै नागरिकको नैर्शिर्गक अधिकार हुन्छ भन्ने अध्ययन गरेको थिए ।

नेपालको कोरोना कहरको एक बिरामी म पनि भए र मेरा अनुभवहरुलाई यस लेख मार्फत सबैसंग प्रेशित गर्ने अनुमति माग्दछु । हुन त कोरोना संक्रमण हुनु हालको अवस्थामा कुनै नौलो कुरा थिएन । तर, पनि मेरा आँखाले देखेका र मैँले अनुभव गरेका केही कराहरु नेपालीहरु माझ पुर्याउन मन लागेर केहि कुरा लेख्ने प्रयास गर्दैछु । म जनसम्पर्क हुने कार्यालयमा काम गर्ने कर्मचारी भए पनि बन्दाबन्दीको समयमा समेत बचेर निरन्तर काम गरिरहेको थिएँ । २०७७ आश्विन १३ गते कोरोना परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएकोले नियमित कार्यालयको काममा थिएँ ।

यसै शिलशिलामा २०७७ आश्विन १९ गते मेरो घाँटी हल्का चिलाउन थाल्यो र सुख्खा खोकी लाग्न थाल्यो । चिसोका कारण होला भनि बाफ लिन थालेँ । अनि खाकीको औषधी पनि खाएँ । तर, कम नभए पछि ग्राण्डी अस्पताल गएर डाक्टर देखाएँ । त्यहाँ पनि उहि जवाफ एलर्जी भएको भनि डाक्टरले औषधी दिनुभयो । त्यो औषधीले पनि केहि भएन बरुमलाई स्वाशप्रश्वास प्रकृयामा असजिलो हुँदै आयो । अनि कोभिड परीक्षण गर्नुपर्ने निष्कर्ष निकालेँ र २०७७ आश्विन २९ गते बिहान स्वाब छोडेर रिपोर्टको प्रतिक्षामा बसेँ। सोहि दिन बेलुकी ६ः३० बजे कोरोना पोजेटिभ भएको रिपोर्ट आयो । अनि म बेसरी आत्तिए र अस्पतालको व्यवस्थाका लागि चिने जानेका आफन्त तथा साथीभाईलाई फोन गर्न थाले । तर, मलाई फोनमा कुरा गर्न पनि असहज महसुश भइसकेको थियो । यसै शिलशिलामा वीर अस्पतालमा बेड पाएँ र बेलुकी ८ः३० बजे वीर हस्पिटलमा भर्ना भए ।

नेपालमा कम्यूनिष्ट सरकार त्यो पनि बहुमतको भएकोले अस्पतालल पाउन यति गाह्रो हुन्छ भन्ने सोचेको पनि थिइनँ । मैँले अध्ययन गरेको थिएँ, कम्यूनिष्टमा वर्ग हुँदैन । सबै समान हुन्छन । सरकारले गर्ने सहयोग पनि बराबर नै हुन्छ । सानो छँदा राजनीति प्रशिक्षणका केहि कक्षाहरु लिने मौका मिलेको थियो र प्रशिक्षकले सिकाउँदा भन्ने गर्नुहुन्थो–कम्यूनिष्टले सर्वहारा वर्गको प्रतिनिधित्व गर्दछ । भेदभाव रहित समाज निर्माण गर्दछ अनि आधारभुत शिक्षा र स्वास्थ्य आम नागरिकका लागि निःशुल्क गर्दछ । तर, आज अनुभव गरे भनाई र गराईमा भिन्नता हुँदो रहेछ । सायद यो मेरो मात्र अनुभव होईन आम नेपालीको अनुभव होला ।

स्वास्थ्य सेवा प्रवाहमा समेत नीजि र सरकारीमा फरक पाएँ । वीर अस्पतालमा उपचार गर्दा गर्दै मेरो अक्सिजन लेवल कम भएछ अनि डाक्टरले आइसीयू आवश्यक पर्ने भएकोले व्यवस्था गर्न भन्नुभयो । मलाई अचम्म लाग्यो कि वीर अस्पतालमा भर्ना भएको एक सरकारी कर्मचारी कार्यालयको कामको शिलशिलामा कोरोना भएको छ, कोहि आगन्तुक आउन मिल्ने छैन, फेरि अस्पतालका डाक्टरको प्रश्न आइसियू खोज्नुभयो ? कति आत्तिएँ होला । नाजुक अवस्था भएको बिरामीलाई आइसीयूमा लाने काम अस्पतालको होइन र ? कि माननीयहरुलाई मात्र यस्तो सुविधा मिल्ने भनि नेपालको संविधानमा उल्लेख छ ? कि म यो देशको नागरिक होइन ? यस्तै यस्तै प्रश्नहरु मेरो मनमा सिर्जित भए ।

फेरी अक्सिजन लेवल बढाउनका लागि दिनुपर्ने एउटा औषधी रेम्डीसिभिर आवश्यक पर्ने रहेछ । जुन नेपालमा अभाव सर्जिना गराईएको रहेछ र अझै अभाव छ । तर, कालाबजारीमा खोज्दा पाइने रहेछ । जुन मैँले पनि ७२ हजारमा लिन पाएँ, किनकी त्यतिबेला बाच्नु ठुलोकुरा थियो । तर, पछि मेरा लागि एक जना साथीले मन्त्रालयबाट मिलाइदिनु भयो र पहिलेको फिर्ता गरेँ । तर त्यहि औषधीको कसैले ५ लाख रुपैयाँसम्ममा किनेको बुझेँ अनि फेरी मलाई कम्यूनिष्ट सरकारको याद आयो । रेम्डीसिभिर वीर अस्पताल मा नै सुरु भईसकेको थियो । त्यो सकिदासम्म बल्लबल्ल एकजना साथीको सहयोगमा बुढानीलकण्ठको चुनीखेलमा अवस्थित करुणा हस्पिटलमा आइसीयू पाइयो र रातीको १२ः१५ बजे वीर अस्पताल बाट करुणा हस्पिटलमा एम्बुलेन्सको सहयोगमा सरियो, जुन भर्ना भएको दोस्रो दिन थियो ।

त्यसपछिका केहि दिन मलाई स्वासप्रश्वासमा केहि असहज भईरहेको थियो । १० लीटर प्रति घण्टाका दरले अक्सिजन दिएको थियो आइसीयूमा बसेको चौथो दिन रेम्डीसिभिरको मात्रा पनि सकियो अनि केहि सहजता अनुभव गरेँ र अक्सिजन पनि ३ लीटर प्रति घण्टाका दरले दिन सुरु भयो । बल्ल अब बाचिन्छ जस्तो लाग्यो । अनि घरमा श्रीमति र आमासँग कुरा गरेँ,–अब म बाँचे छिट्टै घर आउने छु ।

तर, मलाई सुख्खा खोकी भने थियो । यहि बिचमा मेरो बेडको आडमा रहनु भएको एक जनाको मृत्यु भैसकेको थियो । त्यो देखेपछि मेरो मन पनि आत्तिएको थियो । त्यसैले आइसीयूमा बसेको छैटौँ दिन म एचडीयूमा सरेँ र अक्सिजन लिन १ लीटर प्रति घण्टाका दरले सुरु भयो । विस्तारै भोलिपल्ट बिहान देखि अक्सिजन हटाएर उपचार सुरु भयो ।

अक्सिजन हटाएको दास्रो दिन स्वाब परीक्षणका लागि डाक्टर संग सल्लाह गरेँ । उहाँले ‘हुन्छ’ भन्नुभयो र स्वाब पठाई रिपोर्टको पर्खाईमा बसेँ । यति बेला झन मन डराउदो रहिछ, पोजेटिभ आयो भने के गर्ने ? कति दिन अस्पताल बस्ने ? यस्तैयस्तै प्रश्नहरु मनमा खेल्न थाले । तर, भोलिपल्ट करिब ६ बजे रिपोर्ट आयो र डाक्टरले भन्नुभयो,–दामोदर दाई, हजुरको रिपोर्ट नेगेटिभ आयो । तपाई घर जान सक्नुहुन्छ । त्यस पछि बल्ल अब म कोरोना मुक्त भएछु भन्ने भयो र मेरो आत्माबल पनि बढ्यो । अनि करिब ७ः३० बजे अस्पतालबाट डिस्चार्ज भई घर आएर आराम गरिरहेको छु ।

सबै भन्दा दुखि भएको दिन

कोरोना भई वीर अस्पताल भर्ना हुँदा अक्सिजन लेबल घटेर कम भएको अवस्थामा पनि त्यहाका डाक्टरहरुले आइसीयू खोज्नु, रेम्डिसिभिर खोज्नु, तपाईंको अवस्था खतारमा छ भनेको अनि सरकारी अस्पतालले नीजिको जस्तो व्यापार गरेको वा कालोबजारीलाई प्रशय दिएको देख्दा दुःख लाग्यो । त्यसपछि एउटा निष्कर्षमा पुगेँ,–हाम्रो देशमा सरकारी अस्पतालको अनुगमनमा सरकार चुकेको रहेछ । कम्यूनिष्ट सरकारको अनुभव जनताले लिन पाउने अवस्था रहेनछ । त्यसैले आफ्नो व्यवस्था आफै गर्दा राम्रो हुन्छ भनेर नीजि हस्पिटलको खोजी गरि त्यहाबाट सरेँ ।

कोरोना केहि हैन भन्नेको पछि नलागौँ

सडकमा केहि सामाजिक अभियन्ताका नाममा कोरोना केहि हैन, सामान्य हो भनि सरकारको विरोध गर्नेहरु नाराबाजी गरेको देखेको पनि थिएँ । जसलाई कोरोनाका लक्षणहरु देखिएको छैन र पिडाको अनुभव लिनु भएको छैन उंहाँहरुले भन्नुहोला । किनकी अनुभव बिना कसरी थाहा पाउनु । तर, जसलाई गम्भीर लक्षण देखिएको छ, उहाँहरुको सल्लाह लिन उपयुक्त हुन्छ । कसैले पनि कोरोना सजिलै जितिन्छ भनेर घमण्ड नगरे हुन्छ । यो एउटा महामारी रहेछ । मेरो अनुभवमा कोरोना सामान्य होइन । यसले अति पीडा गराउँछ । यो जटिल प्रकारको रोग रहेछ । त्यसैले हल्लाको पछि नलाग्न उपयुक्त हुन्छ ।

अन्त्यमा मलाई आत्मबल बलियो बनाउन हौसाला प्रदान गर्ने आफन्त, डाक्टर, नर्स लगाएत मलाई प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गर्दछ् । यहाँहरुको अपार माया नै मेरा लागि कोरोना जित्ने शक्ति भयो ।

प्रतिकृया

प्रतिकृया