काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठक अनलाइनमार्फत सम्पन्न भएको छ । शुक्रबार बसेको बैठकले आगामी मंसिर ३ गते बस्ने वार्षिक साधारण सभाका एजेण्डा तय गरेको क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिएका छन् ।


ADVERTISEMENT


सचिव प्याकुरेलका अनुसार वार्षिक लेखा परीक्षण, २०२१ को बजेट तथा कार्यक्रम, रणनीतिक योजना निर्माण, जिल्ला तथा प्रदेश संघहरुको कार्यविधि निर्माण आगामी वार्षिक साधारण सभाका एजेण्डा हुनेछन् । यस्तै संघ पदाधिकारी एवम् कर्मचारीको आचारसंहिता निर्माण, ‘एन्टी करप्सन’, ‘एन्टी डोपिङ’ र ‘इथिक्स पोलिसी’लाई पनि वािर्षक साधारण सभाका एजेण्डाका रुपमा समेटिएको छ ।


ADVERTISEMENT

# # #


यस्तै बैठकमा संघको आर्थिक नियमावलीमा छलफल गरिएको छ भने बाँकी छलफल अर्को बोर्ड बैठकमा गरेर पारित गरिने सचिव प्याकुरेलले बताएका छन् । बैठकले नेपाल क्रिकेट अम्पायर तथा स्कोरर संघले प्रस्ताव गरेको विधानलाई क्रिकेट संघ मातहत रहनेगरी मान्यता प्रदान गरेको छ ।

मुख्य प्रशिक्षक र म्यानेजरको अन्तर्वार्ता तिहार अघि

आजै बसेको क्यानको बोर्ड बैठकले रिक्त रहेको नेपाली क्रिकेट टोलीको प्रमुख प्रशिक्षक र म्यानेटरको अन्तर्वार्ता तिहार अघि नै गर्ने निर्णय गरेको छ । तत्कालीन मुख्य प्रशिक्षक उमेश पटवालले राजीनामा दिएपछि गएको माघदेखि मुख्य प्रशिक्षकको पद रिक्त रहेको छ ।

क्यानले गत भदौ १८ गते सिनियर क्रिकेट टिमका लागि एक जना प्रमुख प्रशिक्षक र एक जना म्यानेजरको विज्ञापन प्रकाशित गरेको थियो । सोही अनुसार केही प्रतिष्ठत व्यक्तिहरुले पनि आवेदन दिएका छन् । मुख्य प्रशिक्षक र म्यानेजर खुला प्रतिस्पर्धाका आधारमा छनोट गरिनेछ ।

यस्तै बोर्ड बैठकले नेपाल प्रिमियर लिग (एनपीएल)को ड्राफ्टबारे छलफल गर्दै आगामी वार्षिक साधारण सभामा समेत एजेण्डाको रुपमा पेश गरिने क्यानका सचिव प्याकुरेलले बताएका छन् ।