गण्डकी – विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीका कारण यस वर्ष पोखरा र आसपासका क्षेत्रमा तिहारको रौनकता देखिएन । विगतमा तिहार शुरु भएसँगै परम्परागत पोशाकसहित निस्कने देउसी भैलो खेल्ने समूहका कारण पोखरामा छुट्टै चहलपहल देखिन्थ्यो । यस वर्ष कोरोना महामारी फैलने जोखिमीलाई दृष्टिगत गरी कास्की जिल्ला प्रशासनले देउसी भैलो खेल्नमा रोक समेत लगाएको थियो ।


ADVERTISEMENT


बढ्दो जोखिमीका कारण सर्वसाधारणमा पनि कोरोनाप्रतिको सजगता देखिएको छ । घरघरमा सामान्य दीपावली गरिए पनि यस वर्ष तिहारको रौनकता नदेखिएको स्थानीय भरतराज पौडेलले बताए । विगतमा लुकीछिपी पड्काइने पटकाका आवाज यस वर्ष सुन्न पनि मुस्किल जस्तै बनेको बताउँदै उनले कोरोनाको त्राससँगै जुवा तास खेल्ने क्रममा पनि कमी आएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


घरघरमा सर्वसाधारणले सामान्यरूपमा कुकुर, गाई, गोरुको पूजा गर्नुका साथै भाइटीकाको पनि त्यही रूपमा तयारी गरेका छन् । टाढाटाढा रहेका अधिकांश दिदीबहिनी तथा दाजुभाइलाई यस वर्ष कोरोना महामारीका कारण आवतजावत गर्नसमेत असहज भएको भन्दै अर्को वर्ष टीका लगाउने वाचाका साथ आआफ्नै ठाउँमा बस्नु बाध्यता बनेका छ ।

फूलमा आत्मनिर्भर बन्दै गएको पोखरामा यस वर्ष कोरोना महामारीका कारण पुष्प व्यवसायीले पनि तिहारलाई अड्कलेर फूल लगाएको यहाँका व्यवसायी बताउँछन् । कोरोना महामारी शुरु भएसँगै गरिएको बन्दाबन्दीका कारण औपचारिक सभा समारोह हुन नसकेपछि लगाइएका फूलको समेत खपत हुन नसकेको भद्रकारी नर्सरीका सञ्चालक प्रेमबहादुर रानाले जानकारी दिए। रासस