काठमाडौँ– प्रदेश २ को स्थानीय तह निर्वाचन उल्लासमय वातावरणमा सम्पन्न भएको छ । छिटफुट घटना बाहेक अधिकांश स्थानमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।


ADVERTISEMENT


स्थानीय तहको तेस्रो चरणमा आज प्रदेश नं २ मा भएको निर्वाचनमा ७३ प्रतिशत मतदान भएको छ ।


ADVERTISEMENT

# # #


निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले ७३ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए ।
बिहान सात बजेदेखि मतदानको समय तोकिए पनि त्योभन्दा करिब दुई/तीन घण्टा अघि नै मतदाताहरु लामवद्ध भएका थिए । कतिपय मतदान केन्द्रमा पुरुषको तुलनामा महिलाहरुको संख्या उल्लेख्य देखिन्थ्यो ।

प्रदेश २ मा धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, बारा, पर्सा र रौतहट गरी आठ जिल्लाका एक महानगरसहित १३६ स्थानीय तहमा चुनाव भएको छ । चुनावमा अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
प्रदेश २ मा मतदाता रहेका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिका साथै राजपा शीर्ष नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, महेन्द्र राय यादव, अनिलकुमार झा लगायतले पनि मतदान गरेका छन् ।

तर, पूर्वराष्ट्रपति डा. रामवरण यादवले पनि मतदानमा भाग लिएनन् । उनी धनुषाको लक्ष्मीनिया गाउँपालिका-४ सपहीका मतदाता हुन् ।

यस्तै राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले भने मतदान गरेनन् । उनी स्वास्थ्यको कारण देखाउँदै आइतबार मात्र काठमाडौं फर्किएका थिए । ठाकुर सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर ८ का मतदाता हुन्