काठमाडौँ – बाल यौन दुराचारका आरोपमा एक फ्रान्सेली पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पोखराका १२, आठ र सात वर्षीय तीन नाबालकलाई यौन दुराचार गरेको आरोपमा फ्रान्सका ६० वर्षीय क्रिष्टियन सर्ज हेनरी नौगारेटलाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।


ADVERTISEMENT


ब्यूरोका प्रवक्ता बेलबहादुर पाण्डेले पोखरा महानगरपालिका–१७ बिरौटा पावर हाउसस्थित फुर्सेखोला बगर किनारामा यौन दुराचार गरिरहेका अवस्थामा नौगारेटलाई प्रहरीले पक्राउ गरेको जानकारी दिए । प्रहरीले यौन दुराचारमा परेका तीन नाबालकलाई समेत उद्धार गरेको छ । उद्धार गरिएका नाबालकलाई अभिभावकको जिम्मा लगाइसकिएको छ ।


ADVERTISEMENT

# # #


नौगारेटविरुद्ध बालयौन दुरुपयोग तथा आप्राकृतिक मैथुन गरेका कसुरमा आवश्यक अनुसन्धान गरी कारवाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय कास्कीलाई बुझाइएको ब्यूरोले जनाएको छ । नौगारेट गैरपर्यटकीय भिसामा नेपाल आई पोखरामा बस्दै आएको प्रहरी उपरीक्षक पाण्डेले बताए । रासस