काठमाडौँ – मंगलवार बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय वैठकमा प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्प कमल दाहालबीच चर्काचर्की परेको छ । धुम्बाराहीमा बस्ने भनिएको वैठक प्रधानमन्त्रीले ओलीले ‘सुरक्षा थ्रेट’को कारण देखाउँदै बालुवाटारमा सारेका थिए । वैठकको शुरुमा अर्थमन्त्री एवं नेकपा महासचिव विष्णु पौडेलको जन्मदिनको अवसरमा केक काटेर बर्थडे मनाएका प्रधानमन्त्री ओलीले बर्थडे सेलिब्रेसनपछि प्रचण्डलाई ‘आजको एजेण्डा चाहिँ के हो नि?’ भनेर सोधेका थिए । त्यसको जवाफमा प्रचण्डले आफ्नो र प्रधानमन्त्री ओलीको दुबै प्रतिवेदनमाथि छलफल गरी निश्कर्षमा पुग्नुपर्ने बताएका थिए ।


ADVERTISEMENT


तर ‘म भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न’ भन्दै प्रधानमन्त्री ओलीले प्रचण्डले पेश गरेको प्रस्ताव आफूमाथिका आरोप लाञ्छना मात्र भएको भन्दै प्रचण्डले माफी मागेर प्रस्ताव फिर्ता लिनुपर्ने बताए । प्रधानमन्त्री ओलीले ‘म भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न’ भनिरहँदा यता प्रचण्ड भने मुसुमुसु हाँसिरहेका थिए । प्रचण्ड हाँसेको देखेर ओलीले ‘किन हाँसेको ?’ भन्ने प्रश्नसहित आक्रोशित हुँदै आफूले गम्भीर कुरा गरिरहेको बताएका थिए ।


ADVERTISEMENT

# # #


त्यसपछि प्रचण्डले गम्भीर हुँदै दुबै प्रतिवेदनमाथि छलफल गरेर निश्कर्षमा पुग्नुपर्ने आफ्नो धारणा रहेको बताएका थिए । त्यो सुन्नेवित्तिकै ओली उत्तेजित हुँदै ‘जे मन लाग्यो त्यही बोल्ने ?’ भन्दै प्रचण्डमाथि खनिए ।

त्यसपछि दुबै अध्यक्षबीच चर्काचर्की बढेकोमा ओलीले प्रचण्डको प्रस्ताव कमिटीले लेख्न अनुमति नदिएको र उक्त प्रस्ताव द्वेष, कुण्ठा, लाञ्छना, आलोचना र आरोप पत्रका रूपमा आफूले लिएको बताएका थिए । उक्त विषयमा वैठकमा छलफल हुनै नसक्ने ओलीको भनाइ थियो ।

त्यसपछि प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि ओलीविरुद्ध खनिएको नेकपा उच्च स्रोतले बताएको छ ।

प्रधानमन्त्री ओलीले प्रस्ताव फिर्ता लिए मात्रै वैठक अघि बढ्ने चेतावनी दिएपनि अन्य नेताहरुले प्रस्तावमाथि छलफल गर्नुपर्ने बताएपछि बिना निश्कर्ष बुधवार दिउँसो १ बजेसम्मका लागि वैठक स्थगन भएको थियो ।