काठमाडौँ – प्रधानमन्त्रीसमेत रहेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई व्यापारीको स्वार्थपूर्तिका लागि आफूमाथि आरोप लगाएको बताएका छन् । उनले प्रचण्डले लगाएका हरेक आरोपमा प्रचण्डको गल्ती भएको ठहर्‍याउँदै व्यापारिक स्वार्थमा प्रचण्डले आफूविरुद्ध प्रस्ताव पत्र पेश गरेको आरोप लगाएका हुन् ।


ADVERTISEMENT


अध्यक्ष प्रचण्डले १८ पृष्ठ लामो प्रस्तावपत्र पेश गर्दै केपी ओलीमा भ्रष्ट, अधिनायकवाद, कुशासन, व्यक्तिवादी र एकाधीकारवादी सोच बढेर मुलुक गम्भीर संकटमा परेको उल्लेख गरेका थिए ।


ADVERTISEMENT

# # #


प्रचण्डले ओलीमाथि पार्टीको राजनीतिक कार्यक्रम र घोषणापत्रलाई अवज्ञा गर्ने, पार्टीको मार्गनिर्देशनमा सरकार सञ्चालन गर्ने मान्यतालाई अस्वीकार गर्ने र सुशासन एवम् जनमुखी काम आचरणहरूको उपेक्षा गर्दै अघि बढेको आरोप लगाएका थिए । उनले प्रस्ताव पत्रमा नेतृत्व तहदेखि स्थानीय तहसम्म पैसाका निम्ति घोर व्यक्तिवादी र अराजकतावादी प्रवृत्ति झाँगिएकाले मुलुक गम्भीर संकटमा परेको बताएका थिए । प्रचण्डले प्रधानमन्त्री ओलीमाथि वाइडबडी प्रकरण, सुरक्षण छापा खरीद प्रकरण, यति प्रकरण लगायतका विषयमा अपारदर्शी विषयमा ओलीले संरक्षण गरेको आरोप लगाएका थिए ।

जवाफमा प्रधानमन्त्री ओलीले दरबारमार्गको जग्गा यतिलाई लिजमा प्रचण्ड प्रधानमन्त्री हुँदा नै दिइएको बताएका छन् । उनले आफ्नो कार्यकालमा सस्तो मूल्यमा लिजमा दिइएको जग्गा पारदर्शी ढंगले लिजमा दिने प्रक्रिया अघि बढाएको दाबी गरेका छन् । वाइडबडी विमान खरीद गर्ने निर्णय तत्कालीन माओवादीकै सहयोगमा काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा गरिएको जवाफ ओलीले दिएका छन् ।

तत्कालीन संचारमन्त्री गोकुल बास्कोटा ७० करोडको भ्रष्टाचारको काण्डमा मुछिएको सुरक्षण छापा खरीद प्रकरणमा भ्रष्टाचार नै नभएको दाबी ओलीको छ । उनले छापाखाना खरीद नै नभएकाले खरीद नै नगरेको सामानमा कसरी भ्रष्टाचार हुन्छ भनेर प्रश्न गरेका छन् ।

६० वर्षदेखि भारतको नियन्त्रणमा रहेको लिम्पियाधुरा कालापानीसहितको जमिन फिर्ता ल्याउन नक्सा पासदेखि संविधान संशोधनसम्म आफूले गरेको उनको अभिव्यक्ति छ । यसबीचमा प्रचण्ड दुई पटक प्रधानमन्त्री भइसक्दा पनि यो मुद्दा किन नउठाएको भनेर उनले उल्टै प्रचण्डलाई प्रश्न सोधेका छन् । यस्तै उनले राज्य संयन्त्र परिचालन एकल ढंगले गरेको आरोपको खण्डन गर्दै भनेका छन्, ‘तपाईँले कस कसलाई राजनीतिक नियुक्तिका लागि मलाई सिफारिस गर्नुभएको थियो ? ती नाम अहिले नभनौँ होला ।’

प्रचण्डको प्रस्ताव पत्रको खण्डन गर्दै प्रधानमन्त्री ओलीले ३८ पृष्ठ लामो जवाफी प्रस्ताव पत्र लेखेपनि सचिवालय वैठकदेखि भने उनी भाग्दै हिँडेका छन् । उनले प्रचण्डले पेश गरेको प्रस्ताव पत्र फिर्ता नलिएसम्म वैठक अघि नबढ्ने अडान लिएका छन् ।