बाजुरा– बाजुराको उत्तरी क्षेत्र कोल्टीमा देखिएको मलेरिया रोगको संक्रमण नियन्त्रणका लागि केन्द्रीय टोली बाजुरा आइपुगेको छ ।


ADVERTISEMENT


टोलीले कोल्टी क्षेत्रमा देखिएको संक्रमणको अवस्था अध्ययन गर्नुका साथै नियन्त्रणका लागि समेत आवश्यक उपचार सेवा शुरु गर्ने भएको छ । कोल्टी आसपासका बस्तीमा यसअघि मलेरियाका २६ जना बिरामी भेटिएका थिए । स्वास्थ्य सेवा विभाग, सरुवा रोग तथा महामारी व्यवस्थापन शाखाको टोली मंगलबार आइपुगेको जनस्वास्थ्य अधिकृत रमेश कुँवरले बताएका छन् ।


ADVERTISEMENT

# # #


टोलीमा भेक्टर कन्ट्रोल इन्स्पेक्टर र ल्याव टेक्निसियन रहेका छन् । टोलीले मंगलबारै प्रभावित सातवटै बस्तीबाट सातजना स्वयंसेवक छनोट गरी लामखुट्टे नष्ट गर्ने औषधि प्रयोग गर्ने तरिका समेत सिकाएर नियन्त्रणमा लाग्ने बताइएको छ ।

दशैँ तिहारमा मान्छेको चहलपहल बढी हुने र संक्रमण फैलिने डर बढी हुने भएकाले त्यही अवस्थालाई मध्यनजर गरेर नियन्त्रण प्रयास शुरु गरिएको छ । सातजना स्वयंसेवकका लागि सहजीकरण गर्न कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका दुईजना सुपरभाइजर तोकिएको छ ।

कोल्टी क्षेत्रमा ४,०८४ जना मलेरियाको उच्च जोखिममा रहेका छन् । लामखुट्टे मार्ने विषादी पालैपालो स्पे्र गरेर महिना दिनसम्म प्रयोग गरिने भएको छ ।

त्यस्तोबेलामा गाईभैँसीका गोठ, माहुरीका घारमा असर पर्ने सम्भावना भएकाले विशेष ख्याल गर्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव रहेको छ । रासस