काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पार्टी कार्यालयमा सर्वदलीय बैठक सुरु भएको छ । आइतबार प्रधानमन्त्री केपी शर्माओलीले राष्ट्रपति मार्फत प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचनको मिति घोषणा गरेसँगै त्यसबारे छलफल गर्न बैठक बसेको हो ।


ADVERTISEMENT


बैठकमा कांग्रेस तथा जनता समाजवादी पार्टी (जसपा)का नेतासँगै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपाल पनि सहभागी भएका छन् ।


ADVERTISEMENT

# # #


आजै प्रधामन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्दै जनभावना विपरित राष्ट्रिय राजनीतिलाई अन्त्यहीन र अर्थहीन विवादमा अल्झाएर गतिरोध सिर्जना गरिएपछि र संसदलाई अर्थहीन र जननिर्वाचित सरकारलाई असहयोग र घेराबन्दीमा पुर्‍याइए पछि आफू संसद विघटनको विकल्पमा पुग्न बाध्य भएको बताएका थिए ।

प्रचण्ड–नेपाल पक्षले आजै कानुनविद्हरुसँग परामर्श गर्दै प्रधानमन्त्री ओलीसँग संसद विघटन अधिकार नभएकाले संसद सुचारु गर्न राष्ट्रपतिलाई आग्रह गर्ने निष्कर्ष निकालेको थियो ।

आइतबार प्रधानमन्त्री ओलीले आकष्मिक मन्त्रीपरिषद्को बैठक बोलाएर प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेका थिए ।

सरकारको सिफरिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै २०७८ बैशाख १७ गते पहिलो र २७ गते दोस्रो चरणको निर्वाचनको मिति घोषणा गरेकी थिइन् । उक्त कदमको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतका राजनीतिक दलका साथै चौतर्फी विरोध भएको छ ।

यस्तै नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपाल निकट ७ जना मन्त्रीले पनि आइतबार नै प्रधानमन्त्रीको कदम अलोकतान्त्रिक, असंवैधानिक र निरंकुश भएको भन्दै सामूहिक राजीनामा दिएका थिए ।