चितवन – बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अत्याधुनिक उपकरण भित्रिएका छन् । बिरामीको उपचारमा सघाउने ती उपकरण भित्रिएसँगै सेवा प्रभावकारी हुने देखिएको छ । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार आधुनिक माइक्रोस्कोप, इबस र लेजर सर्जरी उपकरण भित्रिएका हुन् । उनका अनुसार आधुनिक माइक्रोस्कोपले आँखाले देख्न नसक्ने सानाभन्दा साना शल्यक्रिया गर्न सहज हुनेछ । केही दिनअघिबाट सञ्चालनमा आएको यो उपकरण रु एक करोड ५० लाखमा खरीद गरिएको हो ।


ADVERTISEMENT


यसैगरी इबसले मुखबाट पाइप हालेर शरीरको भित्री भागलाई हेर्न मिल्छ । उनका अनुसार यसले अल्टासाउण्डसमेत काम गर्दछ । शरीरका भित्री भागको फोटो खिचेर देखाउने हुँदा उपचारमा सहज हुने गौतमको भनाइ छ । रु तीन करोडको लागतमा उक्त उपकरण खरीद गरी जडान गरिएको हो ।


ADVERTISEMENT

# # #


लेजर सर्जरीले शरीरको बाहिरी भाग नचिरेर नै शल्यक्रिया गर्न सकिन्छ । गौतमका अनुसार यसले भित्री भागमा तोकिएको ठाउँमा गएर रे मार्फत अनावश्यक वस्तु काट्न मिल्छ । मुख्यरुपमा घाँटीको स्वरयन्त्रको क्यान्सर उपचारमा यो प्रविधि प्रभावकारी हुने उनले बताए । रु तीन करोडमा खरीद गरी जडान गरिएको यो उपकरण केही दिनमै सञ्चालनमा आउँदै छ । लेजर सर्जरीको प्रयोग गरी शल्यक्रिया गरेका बिरामी अस्पतालमा लामो समय बस्नुपर्दैन । बाहिरी घाउ नहुने भएकाले छिटो निको हुने डा गौतमको भनाइ छ । यसबाट वर्षेनी ५० जनाभन्दा बढी प्रत्यक्ष लाभान्वित हुने अस्पतालले जनाएको छ ।

उपकरणको अभावमा बिरामी उपचारका लागि भारत जानुपर्ने बाध्यता थियो । यस्तै अस्पतालले विद्युतीय प्रविधिबाट भुक्तानी सेवा शुरु गरेको छ । व्यवस्थित काउन्टर बनाएर भुक्तानीका लागि लामो समय लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य भएको गौतमले जानकारी दिए । जसले गर्दा बिरामी र आफन्त लाभान्वित भएका छन् ।

अस्पतालले पछिल्लो समय आकस्मिक कक्ष व्यवस्थित बनाएको जनाएको छ । कोरोना सङ्क्रमणका कारण बिरामीको सङ्ख्या केही घटेको भएपछि पछिल्ला दिनमा पूर्ववत् अवस्थामा बिरामी आउन थालेका छन् । विगतमा बिरामीले व्यहोर्नु परेका झन्झटमुक्त गराएर गुणस्तरीय उपचारका लागि आफू लागिपरेको गौतमले बताए ।

अस्पतालमा गत वर्ष एक लाख ४५ हजार ७७६ जनाले सेवा लिएका थिए । यहाँ नेपाल र छिमेकी देश भारतबाट क्यान्सरको उपचार गर्न बिरामी आउने गर्दछन् ।

गाँजा नष्ट

जिल्ला प्रहरी कार्यालय चितवनले १५० बिघा क्षेत्रफलमा लगाएको गाँजा नष्ट गरेको छ । प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाका अनुसार राप्ती नगरपालिका– १२ को चात्राङ, नेत्राङ, धैराङ, पर्खाललगायतका स्थानमा लगाइएको गाँजा नष्ट गरिएको हो ।

कार्यालयबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा यही पुस ५ गतेदेखि गाँजा नष्टका लागि गएको टोलीले सो क्षेत्रमा लगाइएको गाँजा नष्ट गरेको हो । जिल्लाको खैरहनी, राप्ती र इच्छाकामना गाउँपालिकाको पहाडी क्षेत्रमा अवैधरुपमा गाँजा खेती गर्ने गरिन्छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले गाँजा ओसारपसार गरेको अभियोगमा साउनयता ३५ जनलााई पक्राउ गरी कारवाही गरेको छ । यसअन्तर्गत १९ मुद्दा दर्ता भएको छ । ती व्यक्तिबाट बेचबिखनका लागि ल्याउँदै गरेको २०५ किलो १८२ ग्राम गाँजा बरामद गरेको थापाले जानकारी दिए । जिल्लाको विभिन्न स्थानमा लगाइएका गाँजा बिक्रीका लागि ल्याउँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको हो । रासस