पोखरा– कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले विजयादशमीका अवसरमा पोखराको बिन्ध्यवासिनी मन्दिरमा आजदेखि शुरु भएको नवदुर्गा महोत्सव शुभारम्भ गरे ।


ADVERTISEMENT


बिन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा शुरु भएको सो महोत्सव असोज १३ गते महानवमीको दिनसम्म सञ्चालन हुनेछ ।


ADVERTISEMENT

# # #


महोत्सवको शुभारम्भपछि बिन्ध्यवासिनी मन्दिरबाट नवदुर्गाका नौ रुपको झाँकी, १०८ कलश सहितको नवदुर्गा शोभायात्रा निकालिएको थियो । शोभायात्रा मोहरिया टोल, नालामुख, चिप्लेढुंगा, महेन्द्रपुल, पालिखेचोक हुँदै बिन्ध्यवासिनी मन्दिरमा पुगेर सम्पन्न भएको थियो ।

शोभायात्रामा विभिन्न भजन समूह, जातीय वेशभूषा, सांस्कृतिक झाँकी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउट, आमा समूह तथा विभिन्न धार्मिक, सामाजिक र शैक्षिक सङ्घसंस्थाको सहभागिता रहेको थियो ।

विश्व शान्ति तथा मानव कल्याणको कामना गर्दै जातीय सद्भाव तथा धार्मिक पर्यटनको विकासमा टेवा पु¥याउने उद्देश्यले महोत्सव आयोजना गरिएको समितिका सदस्यसचिव तीर्थ श्रेष्ठले बताए । महोत्सवमा आजदेखि मन्दिर परिसरमा श्रीमद्भागवतदेवी ज्ञान महायज्ञसमेत हुनेछ ।

सो अवसरमा मन्त्री थापाले सबैभन्दा पुरानो र धार्मिक आस्थाको केन्द्रविन्दुमा रहेको बिन्ध्यवासिनी मन्दिरको संरक्षण र पूर्वाधार विकासमा सबैको ध्यानाकर्षण गराए । उनले धार्मिक पर्यटन प्रवद्र्धनमा पनि बिन्ध्यवासिनी मन्दिरले महत्वपूर्ण टेवा पु¥याउने विश्वास व्यक्त गरे ।

समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको थियो ।