काठमाडौँ – काठमाडौँ महानगरपालिका र मेलम्ची नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्य र नगरपालिकाका प्रमुख डम्बर अर्यालले समझदारीपत्रमा हस्ताक्षर गरेर भगिनी सम्बन्ध शुरुआत गरेका हुन् ।


ADVERTISEMENT


कामपाले यसअघि मुलुकका रामग्राम र चन्दननाथ नगरपालिका तथा चीन, जापान, बेलारुस, म्यान्मा, दक्षिण र प्रजग कोरिया र भारतका गरी १२ शहर तथा मेलम्चीले इटालीको रोभरिटो नगरपालिकासँग भगिनी सम्बन्ध राखिसकेका छन् ।


ADVERTISEMENT

# # #


सो समझदारीसँगै कामपाले निर्माणाधीन मेलम्ची नगरोद्यान निर्माणका लागि सहयोग गर्ने भएको छ । यसका लागि समेत दुई नगरबीच सम्झौता भएको छ । उद्यान मेलम्ची – १० मा निर्माण हुनेछ । इन्द्रावती नदीको किनारमा बन्ने उक्त उद्यानमा पानीको फोहरा, हेलिप्याड, बालबालिकाका लागि खेलकूद मैदानलगायत हुनेछ । उद्यानको डिजाइन मेलम्ची आफैँले गर्नुपर्नेछ । त्यसका लागि प्राविधिक सहयोग मागे कामपाले उपलब्ध गराउनेछ ।

आर्थिक वर्ष २०७७/०७८ मा निर्माण शुरु गरेर २०७८/०७९ मा पूरा गर्नुपर्नेछ । उद्यान निर्माणका लागि एक करोड ५० लाख रुपैयाँ कामपाले सहयोग गर्नेछ भने बाँकी नगरपालिका आफैंँले ब्यहोर्ने छ । कार्यक्रमलाई सम्बोधन गर्दै कामपा प्रमुख शाक्यले मुलुकभित्रकै स्थानीय तहबीच भगिनी सम्बन्ध स्थापना गर्ने कार्य कामपाले गरिरहेको र यसबाट पर्यटनका लागि थप सहयोग पुग्ने बताए । मेलम्चीका प्रमुख अर्यालले मेलम्ची गाउँ नै गाउँले भरिएकाले विस्तारै शहरी विकास गर्न लागिएको जानकारी दिए ।