तेह्रथुम– गाउँलाई सोह्र फन्को मारेर मध्यपहाडी लोकमार्गको निर्माण हुँदै गर्दा फेदाप गाउँपालिका–२, ओयाक्जुङका ५८ वर्षे गजलाल दुलाल निकै हर्षित थिए । घरछेउ हुँदै गएको लोकमार्गको निर्माणलाई हेर्दा उनलाई त्यतिबेला गाउँको विकासको गति शुरु भएछ भन्ने लागेको थियो । तर सडकले विकास होइन उनी जस्ता धेरै किसानको ठूलै विनाश गरिदिएको छ ।


ADVERTISEMENT


नेपाल–भारत सीमा क्षेत्र पाँचथरको चियोभञ्ज्याङदेखि महाकाली नदी बैतडीको झुलाघाटसम्म जोड्ने यो सडक निर्माण गर्दा जिल्लाका सयौँ किसानको खेतबारी पहिरोमा परिणत भएको छ । कतिपय ठाउँमा घरमाथि निर्माण भएका सडकबाट बग्ने पानीले पहिरोको रुप लिएको छ । खेतबारी बीचबाटै निर्माण भएको लोकमार्गले खेतबारी नै बगाउन थालेपछि उनीहरुकोे उठिबास लाग्न थालेको हो । लोकमार्ग निर्माण गर्ने ठेकेदारले सडक निर्माण गर्दा नाली नबनाएकाले बर्खाको भेलबाढी पसाउन आँटेको धान खेतमा पसेर बगर बनाइदिएको दुलालले बताए ।


ADVERTISEMENT

# # #


साहुको खेत कूतमा रोपेका दुलालको २१ मुरी धान फल्ने खेतलाई मध्यपहाडी सडकको भेलबाढी पसेर बगर बनाइदिएको छ । परिवार पाल्ने धानखेत सबै बगाएपछि उनी अहिले निराश छन् । “खेत सबै बगायो,” बगर बनेको धानखेत देखाउँदै उनले भने – “साहुलाई कसरी कूत बुझाउने, परिवारलाई के खुवाउने ?” १३ जनाको परिवार पाल्ने धानखेत आधाभन्दा बढी बाढीले बगर बनाइदिएपछि उनी चिन्तित छन् । “लोकमार्गअन्तर्गत नै फराकिलो सडक निर्माण गर्दा थोरै मात्र भएको खेतबारी पनि कटौती भयो, गाउँको विकास हो भनेर मुआब्जा पनि खोजी गरिएन,” ओयाक्जुङकै अग्निबहादुर दर्जीले भने – “अहिले सडककै कारण पहिरोले बाँकी बारी र घरसमेत जोखिममा पारेपछि सुकुम्वासी जस्तै भएका छौं ।”

दर्जीको करिब नौ रोपनी जमिन सडक निर्माण गर्दा मासिएको थियो । धान, मकै फल्ने खेतबारीमा सडक बनेपछि परिवारलाई खान, लगाउन समस्या भएको उनले दुखेसो गरे । घरमुनिबाट गएको सडकमा पहिरो चलेकाले बास बस्ने घरपालीसमेत बगाउन आँटेको दर्जीले पीडा सुनाए । “अन्न फल्ने खेतबारी त लग्यो–लग्यो,” पहिरोले बगाउन आँटेको घरतर्फ देखाउँदै दर्जीले भने, – “बास बस्ने घरपाली पनि सडकमै मिसाउने भयो । अब के गर्ने होला ?”

लोकमार्गकै कारण घर र खेतबारी नै मास्सिएर आफू सुकुम्बासी बन्न थालेको उनले बताए । लोकमार्गले विकास होइन विनाश ल्याएको उनको बुझाइ छ । घरको करेसालाई छोएर गएको मध्यपहाडी लोकमार्गमा आएको पहिरोले सोही गाउँका ३६ वर्षीय लालबहादुर श्रेष्ठको पनि धान फल्ने तीन रोपनी खेत पुरिदिएको छ । सडक निर्माणताका पनि आफूहरूको धेरै जमिन कटानमा परेको र निर्माणपछि पनि बर्खाको भलबाढी व्यवस्थित नगर्दा पाक्न आँटेको अन्नबाली सबै बगाएको श्रेष्ठले बताए । अन्न फल्ने धेरै किसानको खेतबारी सडकमा भेल बनेर आएको बाढीले बगर बनाइएिको उनले बताए । गाउँ माझबाट आएको लोकमार्ग निर्माण गर्दा मुआब्जा दाबी नगरेका यहाँका धेरै किसानले सडककै लापरबाहीका कारण आफूहरूको उठिबास भएको भन्दै अहिले मुआब्जा दाबी गरिरहेका छन् ।

सडक निर्माण गर्ने ठेकेदारले ठूला मेसिन प्रयोग गरी सडक खनेको र छेउभित्तामा वाल, टेवा, पर्खाल, ड्रेनलगायत निर्माणमा ढिलाइ हुँदा सडक दायाँ–बायाँको हजारौँ रोपनी खेतीयोग्य जमिन पहिरो र बगरमा परिणत भएको छ । मध्यपहाडी लोकमार्ग आयोजनाले सडक निर्माण गर्दा सडकले ओगटेको जमिनको पनि मुआब्जा नदिएको र निर्माणपछि पहिरो र बाढीले पुर्याएको क्षतिपूर्तिसमेत नदिँदा यहाँका धेरै किसान मारमा परेको स्थानीय एवं पूर्वजिविस सदस्य अम्बिकाप्रसाद दुलालले बताए । लोकमार्ग निर्माण गर्न ठेकेदार कम्पनीले गुणस्तरहीन काम गरेकाले जताजतै पहिरो बगिरहेको स्थानीयवासीको आरोप छ ।

यसपालिको वर्षाका कारण लोकमार्गको तेह्रथुम खण्डमा मात्र सयौँ ठाउँमा पहिरो खसेको स्थानीयवासीको भनाइ छ । अधिकांश ठाउँमा सडक निर्माण गर्दा नाली व्यवस्थापन पनि सँगसँगै नहुँदा बर्खामा परेको पानी जम्मा भएर सडक बीचमै खोल्सीसरह बनेपछि बढी क्षति गरेको इसिबुका पुरुषोत्तम तिम्सिनाले बताए । लोकमार्गको बाटो निर्माण गर्दा बसोबास गरिरहेको घर परेमा मात्र ‘थोरै–धेरै’ मुआब्जा दिने र जग्गा जमिनको मुआब्जा दिने नीति नरहेको आयोजनाले जनाएको छ ।