पाल्पा – पाल्पामा यस वर्ष कम उत्पादन भएको सुन्तला बाँदरबाट जोगाउन किसानलाई सास्ती भएको छ ।


ADVERTISEMENT


पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका–५ मुझुङमा बाँदरले पाकेको सुन्तला नोक्सान गर्न थालेपछि बोटका दाना जोगाउन किसानलाई समस्या भएको हो । उचित मूल्य र सुरक्षाका लागि सुन्तला अझै नटिपे पनि बाँदरबाट सुरक्षित राख्न किसानलाई चुनौती भएको छ ।


ADVERTISEMENT

# # #


बाँदरले सुन्तलामा नोक्सानी गरेपछि हरियो सुन्तला बिक्री गरिएको गुनासो वडाध्यक्ष तथा किसान हुमानसिंह कार्कीले गरे । झण्डै ४०० किलो सुन्तला बाँदरका कारण छिटो टिपेर बेच्न बाध्य भएको उनले बताए ।

गत वर्ष झण्डै रु चार लाखको बिक्री भएको सुन्तला यसपाली रु एक लाखको हाराहारीमा मात्रै बिक्री हुने अवस्था रहेको बताए । बाँदरको समस्याले यसपालि सुन्तला उत्पादनमा समेत कमी आएको हो । स्थानीय बासिन्दा डिलमाया गाहाका अनुसार वन क्षेत्रबाट बाँदर आएर सुन्तला खेतीमा क्षति गर्न थालेपछि समस्या हुँदै आएको छ । मकै बाली उत्पादन गर्न छाडेर सुन्तला खेतीमा मात्र व्यस्त भएको गाहाको प्रमुख आम्दानीको स्रोत सुन्तला खेती हो ।

पछिल्लो समय गाउँमा बाँदरको बिगबिगी हुँदा स्थानीय सरकारले बाँदर व्यवस्थापनमा चासो नदेखाएको किसानको गुनासो छ । रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिका सुन्तला खेतीका लागि उपयुक्त रहेको विज्ञको भनाइ छ । अहिले रैनादेवी छहरा गाउँपालिकोको मुझुङ, छहरा, सोमादी, रिब्दीकोटको मैनादी, कुखुमखोला, खस्यौली क्षेत्रमा व्यावसायिकरूपमा सुन्तला खेती हुँदै आएको छ । अन्नबालीमा बाँदरले नोक्सानी गरेपछि किसान सुन्तला खेतीप्रति आकर्षित बनेका थिए ।

स्थानीयवासी जङगबहादुर आलेका अनुसार वनबाट बस्तीमा आएका बाँदर एक्लै धपाउन नसकिने अवस्था भएको छ । महिला तथा बालबालिकालाई बाँदरले आक्रमण गर्ने र जिस्काएर त्रसित बनाएको छ । पूर्वखोला गाउँपालिका–१ सिलुवामा बाँदरले अन्नबाली सखाप पारेपछि पाचँसात वर्षको अवधिमा बस्तीबाट १० , १२ घरका स्थानीय बासिन्दा नै विस्थापित हुन थालेको गाउँपालिका कृषि शाखा प्रमुख सन्तोष कँडेलले बताए ।

जिल्लाका अधिकांश स्थानमा बाँदर धपाउनका बन्दुक प्रयोग गरे पनि बाँदर भागेको छैन । वन संरक्षण गर्न थालेपछि बाँदर, मृग, दुम्सी बँदेल र पक्षीको सङ्ख्या बढ्दो छ ।

दुःख गरी अन्नबाली उत्पादन गरेर पाकेपछि भित्र्याउने बेला वन्यजन्तुले नष्ट गरेपछि समस्यामा परेको किसानको गुनासो छ । पहिला बाँदर, मृग, दुम्सी र बँदेल बस्ती नजिक नदेखिएका अहिले खेतबारीमा नै देखिन थालेको स्थानीय बासिन्दा राधाकृष्ण आलेले बताए । रासस