नवलपरासी – बर्दघाट सुस्तापूर्व नवलपुरको पहाडी क्षेत्रमा पर्ने बौदीकाली गाँउपालिका –३ र ४ वडामा बिजुलीको पोल गाडेको दुई वर्ष बितिसक्दा पनि बिजुली पुग्न सकेको छैन । चालु आर्थिक वर्षको असोज मसान्तसम्म काम सम्पन्न गर्नुपर्ने भए पनि यहाँ काम अलपत्र परेको छ ।


ADVERTISEMENT


विद्युतीकरणका लागि विसं २०७५ मा भौतिक पूर्वाधार विकास मन्त्राललय गण्डकी प्रदेशमार्फत रु एक करोड ८२ लाख १५ हजार ३९७ बजेट विनियोजन गरिएको थियो । विसं २०७६ माघ महिनादेखि यहाँ पोल गाड्ने काम शुरु भएको थियो । गत चैत महिनामा नै पोल गाड्ने काम अन्तिम चरणमा पुगेको भए पनि त्यसयता लकडाउन भएपछि काम ठप्प हुँदा बिजुली बालेर उज्यालोमा बस्ने सपना देखेका यहाँका बासिन्दा निरास भएका छन् ।


ADVERTISEMENT

# # #


अन्य ठाउँको विकास निर्माणको काम विगत चारपाँच महिनादेखि नै सञ्चालन भइरहँदा यहाँको काम सञ्चालन हुन नसक्दा उज्यालोमा बस्ने स्थानीयवासीको आशा निराशामा परिणत भएको स्थानीय अगुवा कुलमणि ढुङ्गानाले बताए । पटक–पटक स्थानीय र प्रदेश सरकारलाई यस विषयमा ध्यानाकर्षण गराँउदा कसैले पनि चासो नदिएको र देशैभर विभिन्न विकास निर्माणका कामले गति लिँदा आफ्नो गाउँमा विद्युत् प्राधिकरणको काम अलपत्र परेकाले काम छिटो सम्पन्न गरी समस्याको सामाधान गर्नुपर्ने ढुङ्गानाले बताए ।

“ बिजुली आएदेखि कुटानी पिसानीदेखि बत्ती बाल्न सजिलो हुने र युवा पनि गाउँबाट पलायन भएर अन्त नगइ गाउँमै केही गर्ने थिए । सिँचाइलाई पानीको पनि समस्या रहेकाले बत्ती आए जेनेरेटरले खोलाबाट पानी तान्न पनि सजिलो हुने थियो, अरु मेसिन चलाउन सजिलो हुने थियो तर बत्ती नहुँदा सबै कुरामा समस्या छ ” स्थानियवासी कृष्णप्रसाद पराजुली बताउँछन् ।

बौदिकाली गाउँपालिकाको वडा नं ३ र ४ मा करिब पाँच किलोमिटरको दूरीमा १५० वटा हाइटेन्सनका पोल गाडिएका छन् भने स्थानीय तहका करिब १५ किलोमिटरको दूरीमा ४०० पोल गाडिएको विद्युत् प्राधिकरण लेखनाथ वितरण केन्द्रका इञ्जिनीयर कविन्द्रकुमार झाले जानकारी दिए । चालु वर्षको असोज मसान्तसम्म बिजुली बाल्ने सम्झौता भएको भए पनि कोरोना सङ्क्रमणका कारणले रोकिएको र त्यसपछि अहिले डिस इन्सुलेटरको अभावले कामलाई अगाडि बढाउन नसकिएको उनको भनाइ छ । विद्युत् प्राधिकरण काठमाडौँले डिस इन्सुलेटरको व्यवस्थापन गरेपछि मात्र तनहुँबाट विद्युत् तार जडान गरी काम अगाडि बढाउन सकिने झाले बताए । रासस