तनहुँ – आँबुखैरेनी गाउँपालिकाले एक वडा एक पोखरी र एक चौतारीको अभियान शुरु गरेको छ । पर्यावरण प्रवद्र्धन गर्ने उद्देश्यसहित गाउँपालिकाले प्रत्येक वडामा पोखरी र चौतारी निर्माण गर्न लागेको हो ।


ADVERTISEMENT


चालु आर्थिक वर्षभित्रै छवटै वडामा पोखरी र चौतारी निर्माण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिए । ‘वातावरण प्रवद्र्धन गर्ने उद्देश्यसहित यो अभियान शुरु गर्न लागेका हौ, यसका लागि बजेट पनि विनियोजन भइसकेको छ,’ पोखरेलले भने ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको रु २१ लाख बजेट पोखरी र चौतारी निर्माणमा खर्च गरिनेछ । सोमबार सम्पन्न आठौँ गाउँसभाले यसको सो निर्णय गरेको हो । ‘प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगार सूचीमा सूचीकृत भएकालाई पोखरी र चौतारा निर्माणमा रोजगारी प्रदान गर्छौँ’, पोखरेलले भने ।

करदाता बढे

आँबुखैरेनी गाउँपालिकामा करदाता बढेका छन् । आर्थिक वर्ष २०७६/७७ मा तीन हजार २ सय ७ करदाता रहेकामा चालु आव २०७७/७८ मा चार हजार ८ सय ७९ करदाता पुगेका छन् । त्यसमध्ये व्यक्तिगततर्फ ४ हजार ६ सय ९४ र संस्थागततर्फ १ सय ८५ करदाता रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पोखरेलले बताए । चालु आवमा एक हजार ९ सय ४० करदाताले सम्पत्ति तथा भूमिकर तिरेका छन्, भने २ हजार ३९ जनाले कर तिर्न बाँकी छ । गाउँपालिकामा आव २०७५/७६ मा तीन हजार ९ सय १७ र आव २०७४/७५ मा चार हजार २ सय ९२ करदाता थिए ।

पाँच वटा कानून निर्माण

गाउँपालिकाले चालु आवमा पाँच वटा कानून निर्माण गरेको छ । आइसोलेशन व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७, कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोष सञ्चालन कार्यविधि २०७७, कोरोना भाइरससम्बन्धी क्वारेन्टिन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७७, निजी जग्गाको गिट्टी, बालुवा माटो कार्यविधि २०७७ र स्थानीय विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७७ निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । रासस