काठमाडौँ – भारत सरकारले नेपाललाई १० लाख डोज कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अनुदानमा उपलब्ध गराएको छ ।


ADVERTISEMENT


बुधबार नेपाल–भारतद्वारा आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै स्वाथ्यमन्त्री हृदयेश त्रिपाठीले भारतले उपलब्ध गराएको उक्त खोप बिहीबार (भोलि) नै काठमाडौँ आइपुग्ने जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


मन्त्री त्रिपाठीले खोप लगाउनका लागि सबै तयारी पूरा गरिसकेको जानकारी दिए । नेपालको कूल जनसंख्याको ७२ प्रतिशत संख्यालाई कोरोनाविरुद्धको खोपको लागि उपयुक्त संख्याका रुपमा चित्रित गरिएको उनले बताए । जसमध्ये ३ प्रतिशत जनसंख्या, कोरोनाविरुद्धका योद्धाहरु सफाइकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्सका चालक, शव व्यवस्थापनमा संलग्न व्यक्ति, सुरक्षाकर्मीलाई पहिलो प्राथमिकतामा राखिनेछ ।

त्यसमध्येबाट बाँकी रहेको खोप अन्य जोखिमका क्षेत्रमा काम गर्नेहरुलाई प्रदान गरिने सरकारको योजना रहेको छ । खोप अभियानलाई सफलतापूर्वक सम्पन्न गर्न मन्त्रालय, कर्मचारी तयार अवस्थामा रहेको उनले बताए ।

भारतले दिएको कोरोना विरुद्धको खोप अनुदान नेपाल–भारत मित्रताको एक अनुपम उदाहरण रहेको स्वाथ्य स्वाथ्यमन्त्री त्रिपाठीको भनाई छ । उनले भने, ‘आगामी दिनमा पनि खोप खरिदका लागि भारत सरकार र नेपालका लागि भारतीय राजदूतको सहयोग अत्यन्त महत्वपूर्ण हुनेछ ।’

यस्तै उनले बाँकी खोपको खरिद प्रक्रियाका लागि कानुनी र आर्थिक जटिलता नरहेको स्पष्ट पारे । ‘खोप ल्याउन कुनै कानुनी जटिलता रहेन, खरिदका लागि कुनै आर्थिक, प्रशासनिक जटिलता रहेन ।’ उनले भने, ‘खोप ल्याउनका लागि जति तयारी गर्नुपर्ने हो, सबै तयारी पूरा गरिसकेका छौँ ।’