काठमाडौँ – काठमाडौँमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले लगातार तेस्रो जित हात पारेको छ । १० टिम सम्मिलित प्रतियोगिताको समूह ‘ए’मा रहेको आर्मीले बुधबार प्रदेश १ लाई ४ विकेटले हराएको हो ।


ADVERTISEMENT


मुलपानीस्थित क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको प्रदेश नं. १ ले ४०.१ ओभरमा १३१ रनमै अलआउट भयो । १३२ रनको सामान्य लक्ष्य पच्छ्याएको आर्मीले २० ओभरमा ६ विकेट गुमाउँदै १३५ रन बनायो ।


ADVERTISEMENT

# # #


आर्मीको जितका लागि रोहित पौडेलले सर्वाधिक ३६ रन प्रहार गरे । यस्तै भीम सार्कीले २९, राजेश पुलामीले नटआउट २४ रन बनाउँदा लोकेश बम १३ रन बनाएर पेवेलियन फर्किए ।

प्रदेश नं. १ का लागि फिरदोस अन्सारी, ज्ञानेन्द्र श्रेष्ठ, दीपेश कँडेल र सुभांकर उरावले १–१ विकेट लिए ।

यसअघि प्रदेश नं. १ का लागि विवेक मेहताले अर्थशतकीय पारी खेले । त्यसक्रममा उनले ९३ बलमा ७ चौका र १ छक्का प्रहार गरे । यस्तै फिरदोस अन्सारीले ३२ रन जोडे । दीपक पासवानले १९ रन बनाउँदा दीपेश कँडेजल ११ रनमा आउट भए । अन्यले दोहोरो अंक छुन सकेनन् ।

प्रदेश नं. १ लाई सस्तैमा समेट्ने क्रममा आर्मीका साहब आलमले ४ विकेट लिए । खेलको म्यान अफ दि म्याच चुनिएका आलमले ९.१ ओभरमा ३ मेडेन राख्दै २३ रन मात्रै खर्चिए । यस्तै आकाश चन्दले ३ विकेट लिँदा सुसन भारी, भीम सार्की र राजेश पुलामीले १–१ विकेट हात पारे ।

आजै समूह ‘बी’ अन्तर्गतको खेलमा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराएको थियो ।