काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका नवनियुक्त आर्थिक सल्लाहकार मोतिलाल दुगडले आफ्नो जिम्मेवारीमा खरो उत्रिने र प्रधानमन्त्रीलाई हरेक किसिमको सहयोग गर्ने विश्वास दिलाएका छन् ।


ADVERTISEMENT


बिहीबार रिपोर्टर्स नेपालमा आयोजित साक्षात्कारमा बोल्दै दुगडले १३ महिना उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीका रुपमा रहँदा गरेको कामले धेरै प्रशांसा पाएको उल्लेख गरे । उनले भने, ‘यो महामारीको बेलामा मन्त्रालय र्याकिङमा नम्वर वानमा परेको सुन्न पाएँ । यो थाहा पाउँदा खुशी लाग्यो ।’


ADVERTISEMENT

# # #


उनलेकोभिड–१९ को महामारीको समयमा कुनै वस्तुको अभाव हुन नदिएको पनि स्पष्ट पारे । उनले भने,‘हामीले प्याण्डेमिकको समयमा घर–घरमा खाद्यान्न पुर्यायौं । कालोबजारी हुन दिएनौं । राहत वितरणहरु पनि गर्यौं । रातदिन काम गर्यौं ।’ त्यही कामका कारण प्रधानमन्त्रीले विश्वास गरेर आफ्नो सचिवालयमा काम गर्ने गरी जिम्मेवारी दिएको उनले बताए ।

उनले भने, ‘प्रधानमन्त्रीज्यूले मैले गरेको कामको प्रशंसा गर्नुभयो । पफर्मेन्स राम्रो भयो भनेर भन्नुभयो । अहिले जुन जिम्मेवारी दिनुभयो, मैले यसलाई गम्भीर चूनौतिको रुपमा लिएको छु ।’

सल्लाहकार दुगडले कोरोना महामारीले गर्दा अर्थतन्त्र जर्जर भएको उल्लेख गर्दै यसलाई सुचारू गर्नुपर्ने चूनौति रहेको सुनाए । प्रधानमन्त्रीको समृद्ध नेपाल बनाउने अभियानलाई आफूले पूरा साथ दिने बताए । उनले भने, ‘म पनि उहाँलाई कसरी सहयोग पुर्याउन सक्छु भनेर लागेको छु । म पारदर्शी व्यक्ति हुँ ।’

उनले देशको समृद्धि निजी क्षेत्रको हातमा रहेको उल्लेख गर्दै निजी क्षेत्र समृद्ध हुनुपर्ने धारणा राखे । निजी क्षेत्रलाइ प्रोत्साहन, पुँजीगत खर्च बढाउने र विकास आयोजना अघि बढाउने आफूहरुको मुख्य योजना रहेको उनले सुनाए । अहिलेको राजनीतिमा आएको तरलताले विकासमा कुनै अवरोध नहुने दाबी गरे ।

यस्तै उनले संसद विघटन गरेर ताजा जनादेशमा जाने प्रधानमन्त्रीको सोच न्यायसंगत रहेको जिकिर गरे । उनले भने, ‘प्रधानमन्त्रीज्यूलाई कुर्सीको मोह भएको भए त उहाँले चुनाव किन घोषणा गर्नुहुन्थ्यो ? उहाँलाई कुर्सीको मोह छैन् । सरकारले काम गर्न सकेको छैन भन्ने शंका छ भने जनादेश खोजौं भन्नुभयो ।’

संसद विघटन पहिलो घटना नभएको भन्दै उनले यसबाट कोही पनि विचलित हुन नहुने तर्क गरे । संसद विघटन र चुनाव हुने भएर देशमा कुनै किसिमको बदलावा आउँछ, अस्थिरता हुन्छ भनेर भ्रमपूर्ण कुरा फैलाईएको उनको भनाई छ ।