काठमाडौँ – नेपाल आयल निगमले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत तेजाब आक्रमणबाट पीडित दुई महिलालाई एक वर्षका लागि रोजगारी दिएको छ । तेजाब आक्रमणबाट पीडित बनेकी साविक फूलबारी गाविस–३ ओखलढुङ्गाकी पवित्रा कार्की र नवलपरासीकी वसन्ती परियारलाई निर्वाह खर्च उपलब्ध गराउने गरी गत पुस १६ गतेदेखि कामकाजमा लगाइएको निगमले जनाएको छ ।


ADVERTISEMENT


तेजाव आक्रमणबाट पीडित भई सामाजिक तथा मनोवैज्ञानिक त्रासका साथ जीवन बाँचिरहेको आक्रान्त अवस्थामा उहाँहरु निगमको सम्पर्कमा आएका थिए । उनीहरु दुवै जनाले कमजोर आर्थिक र शरीरमा तेजावको जलनका कारण अन्य शारीरिक कार्य गर्न असमर्थ रहेको र जीवन निर्वाह तथा नियमित औषधिको जोहो गर्न कठिनाइ भएको व्यहोरा खुलाइ आफ्नो योग्यताअनुसारको रोजगारीको व्यवस्था गरिदिन अनुरोध गरी निगममा निवेदन पेश गरेका थिए ।


ADVERTISEMENT

# # #


तेजावपीडित दुवै जनालाई सामाजिकीकरणमा सहयोग पु¥याइ क्षमता विकास गर्नसक्ने अवसर जुटाइदिने तथा जीवनयापन औषधोपचारमा पुनःउत्थान र सामाजिक अन्तरघुलन गराइ निजको आत्मबल बढाइ भविश्यमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ रोजगार प्रदान गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

उनीहरुलाई न्यूनतम् मासिक रु २० हजार पारिश्रमिक पाउने गरी कार्यालय सहयोगीको जिम्मेवारी दिइएको उनले बताए । तेजाव पीडितलाई एक वर्षको करार गरेर काममा लगाइएको उनको भनाइ छ । तेजाव पीडितको आत्मबल बढाउने र समाजमा आत्मसम्मानका साथ जीवन निर्वाह गर्न सघाउ पुग्ने उद्देश्यले कामको अवसर दिइएको प्रवक्ता उपाध्यायले जानकारी दिए ।

निगमले पेट्रोलियम पदार्थको आयात, भण्डारण तथा बिक्रीवितरण व्यवस्थापनका अतिरिक्त संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विविध सामाजिक तथा कल्याणकारी कार्य गर्दै आइरहेको छ । निगमले कोभिड–१९ रोकथाम तथा उपचार कोषमा रु ५० करोड सहयोग गरेको थियो । यस्तै निगमले खोटाङको हलेसी मन्दिरमा धर्मशाला निर्माण, लकडाउनका समयमा अपाङ्गता भएका तथा बेसहारा व्यक्ति, बालगृह, वृद्धाश्रमलगायतलाई एलपी ग्यासको सिलिण्डर उपलब्ध गराएर सामाजिक उत्तरदायित्वअन्तर्गत सेवा पुर्याएको थियो ।