विराटनगर– एकीकृत भन्सार जाँच चौकीले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा कूल १८ अर्ब तीन करोड २६ लाख २१ हजार राजश्व सङ्कलन गरेको छ । संकलित सो रकम आशातित रकमभन्दा कम भएको कार्यालयले जनाएको छ । उक्त अवधिमा भन्सारले रु २३ अर्ब ७ करोड बराबरको राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।


ADVERTISEMENT


कार्यालयले लक्ष्यमा रु पाँच अर्ब तीन करोड ५७ लाख ४५ हजार कम सङ्कलन गरेको छ । यस अर्थमा भन्नुपर्दा, संकलित रकम कुल आशातित रकमको ७८ दशमलव १७ प्रतिशत मात्रै हो। गएको वर्षमा सो अवधिमा रु २६ अर्ब पाँच लाख ८५ हजार राजश्व सङ्कलन गर्ने लक्ष्यमा रु १५ अर्ब ८५ करोड ६१ लाख १५ राजश्व सङ्कलन गरेको थियो । सो अवधिमा कार्यालयले लक्ष्यमा रु नौ अर्ब ८१ करोड २८ लाख ३६ हजार राजश्व कम सङ्कलन गरी ६१ दशमलव ७७ प्रतिशत प्रगति गरेको थियो ।


ADVERTISEMENT

# # #


चालु आवमा गएको वर्षमा सो अवधिमा सङ्कलित राजश्वभन्दा रु दुई अर्ब १७ करोड ६५ लाख ६ हजारले बढी राजश्व सङ्कलन भएको कार्यालयका प्रवक्ता सन्तोष यादवले जानकारी दिए। उनले गएको वर्षभन्दा यस वर्ष सो अवधिमा विभागले विभिन्न शीर्षकमा कूल रु दुई अर्ब ६० करोड पाँच लाख ८५ हजार कम गरेर साउनदेखि पुससम्मको रु २३ अर्ब छ करोड ८३ लाख ६६ हजार लक्ष्य दिएको जानकारी दिए ।

कोरोना महामारी तथा आयात निर्यातमा आएको उतारचढावका कारण भन्सार राजश्व पनि प्रभावित भएकाले लक्ष्यअनुसार राजश्व सङ्कलन नभएको भन्सार प्रमुख शिवकुमार भण्डारीको राय रहेको छ । उनले विगतमा सो अवधिमा राजश्व सङ्कलन गर्ने लक्ष्यको चालु आवमा लक्ष्य घटाए पनि प्रगति हासिल गर्न नसक्नुको प्रमुख कारण कोरोनाको महामारीले व्यापार व्यवसायमा आएको प्रभाव नै हो भन्ने कुरामा जोड दिए।

कार्यालयले चालु आवको साउनमा रु. २ अर्ब २४ करोड ५६ लाख १४ हजार, भदौमा २ अर्ब ५६ करोड ९६ लाख ९८ हजार, असोजमा ३ अर्ब ३४ करोड चार लाख ४१ हजार, कात्तिकमा ३ अर्ब चार करोड ४२ हजार, मङ्सिरमा ३ अर्ब १३ करोड ४० लाख ४२ हजार र पुसमा ३ अर्ब ७० करोड २७ लाख ४२ हजार राजश्व सङ्कलन गरेको जनाएको छ । कार्यालयले साउनमा १ सय २ दशमलव ७५ प्रतिशत प्रगति हासिल गरे पनि त्यसपछिका महिनामा क्रमशः ७९ दशमलव ५२, ७२ दशमलव ७०, ८३ दशमलव नौ, ६५ दशमलव ८३ र पुसमा ७९ दशमलव ८६ प्रतिशत प्रगति गरेको जनाएको छ ।रासस