एजेन्सी – एस शंकरको कथा र निर्देशनमा सन् २००१ मा भारतमा ‘नायक’ फिल्म प्रदर्शनमा आएको थियो । जसमा नायकको भूमिका अनिल कपुर एवं खलनायकको भूमिका अमरिश पुरीले निभाएका थिए । उक्त फिल्ममा एक सामान्य पत्रकारको भूमिकामा देखिएका शिवाजी राओ (अनिल कपुर)लाई एक दिन मुख्यमन्त्री बलजीत चौहान (अमरिश पुरी)को अन्तरवार्ता लिने सौभाग्य मिल्छ । अन्तरवार्तामा पत्रकार शिवाजीको प्रश्नको उत्तर दिन नसकेपछि मुख्यमन्त्री चौहानले एकदिनको मुख्यमन्त्री बन्ने चुनौती पत्रकारलाई दिन्छन् र शिवाजीले उक्त प्रस्ताव स्वीकार्छन् । त्यसपछि उक्त फिल्ममा एउटा सामान्य पत्रकार मुख्यमन्त्री भएपछि एकदिनमा गरेको आमुल परिवर्तनको दृश्य देख्न सकिन्छ ।


ADVERTISEMENT


यो त थियो चलचित्रको कथा ।


ADVERTISEMENT

# # #


तर भारतमै उत्तराखण्ड राज्यमा एक १९ वर्षीय किशोरी साँच्चिकै एकदिनका लागि मुख्यमन्त्री बन्ने भएकी छिन् । हरिद्धारकी सृष्टि गोस्वामीलाई एकदिनका लागि मुख्यमन्त्री बन्ने सौभाग्य मिलेको हो ।

२४ जनवरीमा हुने राष्ट्रिय बालिका दिवसको अवसरमा उत्तराखण्ड सरकारले उनलाई एकदिनका लागि मुख्यमन्त्री बनाउन लागेको हो । प्रतिकात्मक भूमिका भएपनि उत्तराखण्डमा उनी पहिलो मुख्यमन्त्री हुनेछिन् । मुख्यमन्त्री भएपछि उनी बाल विधानसभामा मुख्यमन्त्रीको रुपमा सहभागी हुनेछिन् र सरकारका अलग–अलग विभागले आयोजना गर्ने कार्यक्रममा पनि सहभागी हुनेछिन् ।

उक्त कार्यक्रममा उनलाई मुख्यमन्त्रीले गर्ने कामहरुको बारेमा बिफ्रिङ गरिनेछ र उनी ती विषयमाथि सुझाव तथा निर्देशन दिनेछिन् । बालिकाको सशक्तिकरणका लागि एक दिने मुख्यमन्त्री बनाउन लागिएको उत्तराखण्ड बाल अधिकार संरक्षण आयोगले जनाएको छ ।

उक्त कार्यक्रममा मुख्यमन्त्री त्रिवेन्द्र सिँह रावतको पनि सहभागिता रहनेछ ।