म्यादी– कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजनाको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत दानामा सडक निर्माण भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा विभिन्न विकास आयोजना निर्माण अन्र्तगत वडा कार्यालय भवन ढलान र ज्ञानप्रकाश मावि जोड्ने सडक निर्माण भएको हो ।


ADVERTISEMENT


यसअघि जलथले, फगाम, सुवा हुँदै दुवारीखोला जोड्ने सडक निर्माण गरेको आयोजनाको ठेकेदार कम्पनी टाटाको सहयोगमा नै सो सडक निर्माण भएको जनाइएको छ । प्रसारण लाइनको टावर निर्माणस्थलमा सामाग्री ढुवानी गर्न निर्माण भएको उक्त सडकबाट स्थानीयवासीलाई पनि सुविधा पुगेको छ । यस्तै, दुवारी खण्डमा पहिरोले भत्काएको सडक समेत मर्मत गरिएमा जलथले–दुवारी खण्डको बेनी–जोमसोम सडकको विकल्प बन्ने वडाध्यक्ष नरसिंह पुर्जाले बताए ।


ADVERTISEMENT

# # #


अहिले फगाम र सुवाका बासिन्दाले आवतजावतका साथै कृषि उपज निकासी र दैनिक उपभोग्य तथा निर्माण सामग्री ढुवानीमा यो सडक प्रयोग गरेका छन् । ४ किलोमिटर दूरीको यो सडक निर्माणका लागि टाटाले करिब रु ५५ लाख खर्च गरेको जनाएको छ । यसैगरी आयोजनाको रु १२ लाख सहयोगमा दानास्थित वडा कार्यालय भवन समेत ढलान गरिएको छ । यसअघि भने सो भवन जस्तापाताले छाइएको थियो । जस्पातापाता हटाएर ढलानसँगै भवनभित्रका कोठा मर्मतसमेत गरिएको वडाध्यक्ष पुर्जाले बताए ।

भवन निर्माणअघि चुहिने समस्या रहेको थियो । भवन मर्मत र ढलान गरेपछि सेवा प्रवाहमा सहज भएको वडाध्यक्ष पुर्जाले जानकारी दिए। यसैगरी दानाको घट्टेखोलास्थित बेनी–जोमसोम सडकबाट ज्ञानप्रकाश मावि जोड्ने सडक निर्माण भएको छ । सडक निर्माणका लागि आयोजनाले गाउँपालिकामार्फत उपलब्ध गराउने गरेर रु २० लाख विनियोजन गरेको थियो । नालीसहित छ मिटर फराकिलो ४ सय मिटर सडक निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष सुरत केसीले बताए । सडकको दुईतर्फ पर्खाल निर्माण भएको छ ।

उपभोक्ता समितिमार्फत सडक निर्माण भएको छ । नमूना विद्यालयमा छनोट भएको विद्यालयसम्म सहज पहुँच पुग्नुका साथै दानागाउँका बासिन्दालाई आवतजावत र ढुवानीमा सुविधा पुगेको र् यसका साथै सडक, नाली र पर्खाल निर्माणको काम सकेर गाउँपालिकामा भुक्तानीको प्रक्रिया समेत अघि बढेको जानकारी अध्यक्ष केसीले दिए। यसअघि साँघुरो सडकमा सवारी साधन र मानिस आवतजावत गर्न समस्या भएको थियो ।

जलविद्युत्, प्रसारण लाइनलगायत विकास आयोजनाले कूल लागतको ०.७५ प्रतिशत वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनअनुसार सामाजिक गतिविधिमा खर्च गर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार प्रसारण लाइन प्रभावित क्षेत्रमा स्थानीय तहसँग समन्वय गरेर आवश्यकताका आधारमा सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गरिएको आयोजनाले जनाएको छ । रासस