काठमाडौँ – विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप नेपालमा भोलिदेखि लगाउन सुरु हुँदैछ । भारत सरकारको अनुदान सहयोगमा गत साता मात्रै नेपाल भित्रिएको ‘कोभिशिल्ड’ नामक उक्त खोपको प्राथमिकतामा फ्रन्टलाइनमा खट्ने स्वास्थ्यकर्मी रहेका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री केपी शर्माओलीले बुधबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा खोप अभियानको शुभारम्भ गर्दैछन् । कोभिड–१९ विरुद्धको पहिलो खोप भने सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका निर्देशक डा. सागर राजभण्डारीले लगाउने  छन् । उनीपछि दोस्रो खोप डा. अनुप बास्तोलाले लिँदैछन् ।


ADVERTISEMENT

# # #


विश्वमा कोरोना देखिएको वर्षदिन लामो प्रतिक्षापछि प्राप्त गरेको कोरोनाविरुद्धको खोपको प्रभाव व्यक्तिमा कस्तो पर्छ त ? अनि यो कस्ता व्यक्तिले लगाउने भन्नेबारे प्रश्न अधिकांशमा रहेको देखिन्छ । यो स्वभाविक पनि हो । आम मानिसमा भएको सो जिज्ञासालाई चिर्दै सरुवा रोग विशेषज्ञ डा. वासुदेव पाण्डे व्यक्तिमा खोपले सामान्य प्रभाव देखाए पनि स्वास्थ्यमा गम्भीर र दीर्घकालीन असर भने नदेखाउने बताउँछन् । उनी भन्छन्, ‘भ्याक्सिनका सामान्य प्रभाव त हुन्छन् नै । तर, यसले व्यक्तिको ज्यानै भने लिदैँन ।’

सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका पूर्वनिर्देशक समेत रहेका डा. पाण्डे ‘कोभिशिल्ड’को असर व्यक्तिपिच्छे फरक-फरक देखिने बताउँछन् । उनका अनुसार शरीरमा पहिले नै एन्टिबडी भएको व्यक्तिमा खोप लिएपछि एन्टिबडीको मात्रा झन् छिटो बढ्ने सम्भावना प्रबल रहन्छ ।

खोपका असरहरु
डा. पाण्डेका अनुसार, ‘कोभिशिल्ड’ को डोज लिएपछि व्यक्तिमा देखिने प्रभाव यस्तो रहन्छः

– सुई लगाएको ठाउँमा दुख्ने, रातो हुने र हल्का सुन्निने,
– टाउको दुख्ने,
– शरीर गलेको महशुस वा आलस्य हुने,
– वाक्वाकी लाग्ने,
– मांसपेशी दुख्न सक्ने,
– केही व्यक्ति (१० देखि १५ प्रतिशत) मा सामान्य ज्वरो आउन सक्ने ।

कस्ता व्यक्तिले लगाउने ?

कोरोनाविरुद्धको खोप ज्वरो आएको, गम्भीर रोगका बिरामी र १८ वर्षमुनिका बाहेक सबै व्यक्तिले खोप लगाउन सक्ने डा. पाण्डेले बताएका छन् ।

व्यक्तिले आफ्नो स्वेच्छाले खोप लगाउने भएकोले लगाउन नचाहने व्यक्तिले नलगाउन पनि सक्ने उनको तर्क रहेको छ । ‘मधुमेह, उच्च रक्तचाप एवम् थाइराइडजस्ता दिर्घरोगी तथा पहिले कोरोना देखिएका र नदेखिएका सबैले खोप लगाउन सकिन्छ’, डा. पाण्डेले भने ।

खोपको डोज पहिलो पटक लगाइएको दिन र त्यसको ४ हप्ता अर्थात् २८ दिनपछि दोस्रो डोज गरी दुई चरणमा लगाउनुपर्छ । नेपालमा पहिलो पटक गत वर्ष माघ ९ गते कोरोना भाइरस संक्रमित भेटिएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा २ लाख ७० हजार ६९ जनामा कोराना पोजेटिभ देखिएको छ । जसमध्ये २ लाख ६४ हजार ८२३ जना निको भइसकेका छन् भने २ हजार १७ जनाले ज्यान गुमाएका छन् । मंगलबार मात्रै ३०३ जना नयाँ संक्रमित थपिएका छन् भने २८५ निको भएका छन् ।