काठमाडौँ – सरकारले संसद् विघटन गरेपछि सरकारको उक्त निर्णयको समर्थन गर्ने वा विरोध भन्नेमा अन्यौलमा रहेको प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले अन्ततः संसद् विघटनको विरुद्धमा सरकारविरुद्ध आन्दोलन गर्ने भएको छ । पुस ७ देखि निरन्तर सरकारको उक्त निर्णयको विषयमा छलफल गरिरहेको काँग्रेसले संसद्  पुनःस्थापनाका लागि आन्दोलन गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


मंगलवार बसेको काँग्रेसको केन्द्रिय समिति वैठकले सरकारविरुद्ध आन्दोलनको घोषणा समेत गरेको छ । यसअघि काँग्रेसभित्र संसद् विघटनबारे के गर्ने भन्ने विषयमा एकमत थिएन । काँग्रेस सभापति शेरबहादुर देउवासहितको एक पक्ष चुनावमा जानुपर्ने बताइरहेको थियो भने अन्य पक्ष सरकारविरुद्ध आन्दोलनरत थियो । मत मतान्तरनकाबीच काँग्रेसले यसअघि दुई वटा आन्दोलन गरिसकेकोमा मंगलवारको वैठकले एकबद्ध भएर आन्दोलनमा जाने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


मंगलवारको वैठकपछि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘कांग्रेस हिजो पनि प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध आन्दोलित थियो, आज पनि छ र भोली पनि रहनेछ । संसद विघटनविरुद्ध आन्दोलनलाई प्रभावकारी बनाउने विषयमा पार्टीभित्र भिन्न मत छैन ।’