काठमाडौँ – विभागीय टोली त्रिभुवन आर्मी क्लब काठमाडौँमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । बिहीबार बाग्मती प्रदेशलाई सेमिफाइनलमा ९४ रनले पराजित गर्दै आर्मी फाइनल पुगेको हो ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओमरमा सबै विकेट गुमाउँदै २२९ रन बनायो । २३० रनको लक्ष्य पच्छ्याउँदै मैदान प्रवेश गरेको बाग्मती प्रदेशले ४०.२ ओभरमा सबै विकेट गुमाउँदै १३५ रन मात्रै बनाउन सक्यो ।


ADVERTISEMENT

# # #


बाग्मतीको सुरुवात नै खराब रहन गयो । उसले १८ रन जोड्दा नै सुरुवाती ५ विकेट गुमाए पछि टिमको ब्याटिङ नै धराशयी बन्न पु्ग्यो । बाग्मतीका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४७ रनको योगदान दिए । यस्तै विपीन आचार्यले २३, नन्दन यादवले नटआउट २१ तथा आदिल खानले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् ।

बाग्मतीलाई सस्तैमा समेट्ने क्रममा आर्मीका जितेन्द्र मुखिया, सुसन भारी र विक्रम शोबले शानदार बलिङ गरे । त्यसक्रममा जितेन्द्रले ४ तथा सुसन र विक्रमले समान ४–४ विकेट लिए ।

यसअघि आर्मीका लागि राजेश पुलामीले सर्वाधिक ६५ रनको योगदान दिए । त्यसैगरी भीम सार्कीले ४० रन जोड्दा विक्रम सोबले ३५ रन बनाए । लोकेश बमले २३, सुशन भारीले १६ तथा कप्तान विनोद भण्डारीले १० रन जोडे ।

यता बाग्मतीका गौतम केसी एक्लैले पाँच विकेट लिए । रामनरेश गिरी, नन्दन यादव, तिलक भण्डारी र विपीन आचार्यले समान १–१ विकेट लिए ।

उपाधीका लागि आर्मीले अब शनिबार सशस्त्र प्रहरी बल (एपीएफ) क्लबसँग भिड्नेछ । एपीएफले बुधबार नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो । प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ पाउने छ । यस्तै उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ ।

गत माघ ३ गतेदेखि सुरु भएको प्रधानमन्त्री कपमा तीन विभागी टोली आर्मी, एपएफ र पुलिस सहित ७ वटा प्रदेशका टीमले सहभागिता जनाएका थिए ।