सुर्खेत– बालुकुना बिक्री केन्द्रबाट कुहिएको चामल बिक्री गरेको भेटिएको छ । सुर्खेतबाट मुगुको सोरुकोट हुर्दैँ बालुकुना बिक्री केन्द्रबाट उ खच्चरमार्फत ठेकेदारले कुहिएको चामल उपभोक्तालाई बिक्री गरेको पाएको हो । चार घण्टा पैदल हिँडेर चामल लिन बालुकुना पुगेका स्थानीयवासी धनगडी बलले हिमाल निर्माण सेवा मुगुका ठेकेदार प्रदीप टमटाले कुहिएको नै चामल बिक्री गर्ने गरेको गुनासो पोखे ।


ADVERTISEMENT


अधिकांश उपभोक्ताले चामल किनेर घर पुर्याइसकेपछि मात्रै चामल गुणस्तरहीन रहेको थाहा पाएका छन् । चामल डल्ला र घुन लागेर खान नमिल्ने खालको भएपछि गाईभैँसीलाई खुवाएको अर्का स्थानीयवासी दिलबहादुर कार्कीले बताए । माथिल्लो भाग हेर्दा चामल राम्रै देखिएपनि बीच र तल्लो भागका चामल काम नलाग्ने कुहिएर डल्ला परेको बताए ।


ADVERTISEMENT

# # #


खरीद गरेको सो कुहिएको चामल फिर्ता गर्न धेरै समय लाग्ने भएकाले अधिकांश उपभोक्ताले गाईभैँसीलाई खुवाउन बाध्य भएको कार्कीको भनाइ छ । ठेकेदारले जहाँ पायो त्यही गोदाम बनाएर थन्काएर राखेपछि यस्तो समस्या खेप्नु परेको उपभोक्ताहरुले दुःखेसो गर्दै आएका छन् ।यता ठेकेदार प्रदीप टमटाले भने, सुर्खेतबाट मुगुको सोरुकोटसम्म गाडीमा र सोरुकोटबाट खच्चर ढुवानी गरी हुम्लाको सर्केगार्ड गाउँपालिका–१ को बालुकुना बिक्री केन्द्रसम्म ३ सय २० क्विन्टल चामल पुर्याएको बताएका छन्।

ढुवानीकै क्रममा चामल गाडीमा भिजेको हुनसक्ने हिमाल निर्माण सेवा मुगुका ठेकेदार टमटाले स्वीकारेका छन् । ‘यो गाडीवालाको लापरवाही हो; उनले भने । कुहिएको आधा चामल भने, जैरको खच्चामा नै त्रिपालले छोपेर राखेको ठेकेदार टमटाले जिकीर गरेका छन् । ‘२५ बोरा सात क्विन्टल सर्केगार्ड जैरको खच्चामा छोपेर राखेको छु; उनले भने। ठेकेदार टमटाले हतारमा मुगु जिल्लाको सोरुकोटमा एक हजार, कार्मारुम एक हजार र बिक्री केन्द्रमा ९ सय क्विन्टल चामल पुर्याएको बताएका छन् ।

हुम्लाका उपभोक्ता लामो समयदेखि सरकारी खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट ठगिँदै आएका छन् । एक महिना मात्रै सर्केगार्ड गाउँपालिकास्थित सर्केगार्ड डिपोबाट रु एक हजार ३ सय ५० पर्ने चामल ठेकेदारले रु. दुई हजार मूल्यमा बिक्री गरेको उपभोक्ताहरु बताउँछन् । सर्केगार्ड डिपोमा कर्मचारी नभएपछि ठेकेदारले मनपरी भाउमा चामल बिक्री गरी उपभोक्ताबाट रकम असुल्ने गरेको उनीहरुले गुनासो गरेका छन् ।

यस्तै, रु. एक हजार ३ सय ५० पर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामल रु. दुई हजार तिरेर आफूले किनेको सर्केगार्ड गाउँपालिका–५ का गगन सिंहले बताए। आठ बोरा चामल रु १६ हजार तिरेर लिएको सिंहले दुःखेसो पोखेका छन् । यसैगरि,अदानचुली गाउँपालिका–५ करगाई गाउँका पुनबहादुर छत्यालले पनि गत वर्ष अदानचुली गाउँपालिकाको श्रीनगर डिपोबाट किनेको चामलको भात खानै नहुने अमिलो भएकाले पैसा मात्रै खेर गएको दुःखेसो गरेका छन्।

गत वर्ष श्रीनगर डिपोबाट चामल किनेर खार्पुनाथ गाउँपालिका–३ रायाँका दीपक बुढाले पाँच क्विन्टल चामल किनेर ल्याएको कुहिएको भेटिएपछि पैसा त्यतिकै खेर मात्रै भएको उनले बताए । उनका अनुसार, पाँच क्विन्टल चामल कुहिएको परेपछि उनलाई तनाव परेको थियो । यस विषयप्रति खाद्य व्यवस्था तथा व्यापार कम्पनी सिमकोट कार्यालय भने गैरजिम्मेवार रहेको देखिएको छ । यद्यपि कार्यालयले पनि  कर्मचारीको अभाव केही समस्या देखिएको हुनसक्ने कुरालाई स्वाीकार समेत गरेको छ।

चामल सम्बन्धित स्थानमा ल्याउन ठेकेदारलाई जिम्मा दिएको सिमकोट शाखा कार्यालय हुम्लाका शाखा प्रमुख निर्मल थापाले बताए ।शाखामा दुईजना मात्रै कर्मचारी रहेको र डिपोमा कर्मचारी नभएकाले पनि आफूले सबैतिर ध्यान पुर्याउन नसकेको शाखाप्रमुख थापाको भनाइ छ । उक्त चामल ठेकेदारले बिक्री गरेकोले यसप्रति ठेकेदारको नै जिम्मा हुने उनले बताए । ‘खाद्यान्न ठेकेदारले उठाउँदा जिम्मेवार भएर ल्याउनुपर्छ; उनले भने।

गाउँगाउँबाट उपभोक्ताले शाखा कार्यालय सिमकोटलाई उपभोक्ता ठगिएको बारेमा जानकारी गराउँदा पनि सिमकोट शाखा मौन रहेको रहेको छ । डिपोहरुमा कर्मचारी नभएपछि ठेकेदारले मनोमानीरुपमा चामल पुर्याउन मनपरीरुपमा वितरण गर्ने गरेको पाइएको छ । रासस