काठमाडौं – नबिल बैंकले काठमाडौं कुलेश्वरको फलफूल बजारमा क्यूआर भुक्तानी सेवाको शुभारम्भ गरेको छ ।


ADVERTISEMENT


शुक्रबार बिहान नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केही फलफूल खरिद गरी क्यूआर कोड मार्फत भुक्तानी गरी नबिल बैंकको क्यूआर भुक्तानी सेवा सुरु गरेका हुन् । उनले विभिन्न फलफूल पसलको अवलोकन र निरीक्षण गरेपछि केही फलफुल पसलमा फलफूल खरिद गरी आफ्नो मोबाइल बैंकिङको क्यूआर कोडमार्फत भुक्तानी गरेका थिए।


ADVERTISEMENT

# # #


अब फलफूल बजारमा जाने उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ एप्पिकेसन वा मोबाइल वालेट मार्फत सजिलै खरिद गरेको फलफूलको रकम भुक्तान गर्न सक्नेछन् । उद्घाटनपछि गभर्नर अधिकारीले भने, ‘क्यूआर कोड भुक्तानी सेवा एक नवीन भुक्तानी प्रणाली हो जुन विशेष गरी कोभिडको महामारीको कारणले बढेको छ, पछिल्लो पटक यस्तो डिजिटल बैंकिङ आवश्यक पनि रहेको छ, ।’

यस्तै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले पछिल्लो केही वर्षदेखि हामीले नेपालमा भुक्तानी प्रणालीमा नयाँपन देख्न थालेको र जसको परिणाम उपभोक्ता विस्तारै–विस्तारै नगदबाट डिजिटल भुक्तानतर्फ परिवर्तन भइरहेको पाइएको बताए । ‘अझैं पनि कारोबारको ठूलो हिस्सा नगदमा नै हुन्छ । आजको डिजिटल युगमा नविनतम टेक्नोलोजीको विकास गर्नु आवश्यक छ जसले डिजिटल भुक्तानीमा सहयोग गर्छ ।’ उनले भने, ‘नबिल क्यूआर कोड एउटा सहज, सुरक्षित र किफायती डिजिटल भुक्तानी गर्ने माध्यम हो, जसलाई आर्थिक समृद्धिमा महत्वपूर्ण योगदानको रूपमा लिन सकिन्छ ।’

नबिल बैँकका अनुसार नगद तथा डेबिट र क्रेडिट कार्डको विकल्पमा क्यूआर कोड भुक्तानी छिटो र झन्झटमुक्त छ । छिटो र कारोबारको कुनै शुल्क नलाग्ने भएकाले पछिल्लो पटक उपभोक्ताहरु यो नविन सेवातर्फ आकर्षित भइरहेका छन् ।

डिजिटल कारोबारलाई प्रश्रय दिन र क्यासलेस कारोबारलाई बढावा दिनका लागि नबिल बैंकले सन् २०२० को मार्चदेखि क्यूआर कोड भुक्तानी सेवा सुरु गरेको थियो । अहिले बैंकको साथमा देशभर ७ सय ५० भन्दा बढी क्यूआर सेवा दिने व्यावसायिक प्रतिष्ठानहरु रहेका छन् जुन हरेक दिन बढिरहेका पनि छन् ।

क्यूआर कोड भुक्तानी सेवा उद्घाटनमा नबिल बैंकका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत, सिनियर म्यानेजमेन्ट कर्मचारी, नेपाल फलफूल थोक व्यवसायी संघका कार्यकारी सदस्यहरु र कृषि बजार विकास कम्पनीका अध्यक्षको उपस्थिति रहेको थियो ।

नबिल बैंकले कोभिड महामारीकै बीचमा नबिल डिजी बैंक स्थापना गरेर उपभोक्ताको हरेक कामहरुलाई डिजिटलमार्फत सेवा पुराइरहेको छ । मुलुकको पहिलो डिजिटल बैंक बन्ने लक्ष्य राखेको नबिल बैंकले ग्राहकहरुको आवश्यकताहरु पूरा गर्न डिजिटल मार्गहरुको अन्वेषण गर्दैछ ।