गुल्मी– इस्मा गाउँपालिका–१ का मोतीबहादुर कुँवरको गत भदौ २१ गते आफ्नै पसलमा विभत्स हत्या भएको थियो । हत्या भएको करिब पाँच महिना पुग्दा हालसम्म पनि गुल्मी प्रहरीले अपराधमा संलग्न व्यक्ति पत्ता लगाउन सकेको छैन ।


ADVERTISEMENT


लामो समयसम्म हत्या किन र कसले गरेको? भन्ने विषय अन्योल भएका कारण स्थानीयवासीमा त्रास बढ्दै गएको छ ।  मृतकका केही आफन्त र अन्य महिलामाथि पनि प्रहरीले शङ्का गरेको बताउँदै स्थानीवासीहरु अहिलेसम्म पनि हत्यारा पत्ता नलाग्दा आफुहरुमा त्रास बढ्दै गएको बताउँछन् ।


ADVERTISEMENT

# # #


रेसुङ्गा नगरपालिका–१४ पराल्मीका ४५ वर्षीय तुलबहादुर विक पनि यही माघ ३ गते बिहान ११ बजे जङ्गलमा घाँस काट्न जाँदा सोही दिन दिउँसो २ः३० बजेतिर गुल्मीदरबार गाउँपालिका–१ को बलिथुममा मृत भेटिए। उनका छातीमा बन्दुकका छर्रा रहेको बताइएको छ । दिउँसै बन्दुकले हानेर विकको हत्या भएपछि स्थानीयवासीमा त्रास बढेको छ ।

गाउँमा मजदुरी गरेर परिवार पालेका विकको हत्यापछि परिवार शोकमा छन् । हत्यामा संलग्न अहिलेसम्म पत्ता लागेका छैनन् ।

गत पुस २६ गते चार युवाले जिल्ला सदरमुकाममै रहेको महेन्द्र माविको कक्षा १२ मा पढ्ने इस्मा गाउँपालिका–३ का माधव पछाईँलाई मरणासन्न हुने गरेर कुटपिट गरे । पीडित परिवारले प्रहरीमा चार जनाविरुद्ध किटानी जाहेरी पनि दिएका दिए । तीमध्येका दुई हिरासतमा छन्, भने अन्य दुईजना अझै फरार छन् ।

तम्घासकै मुख्य बजारमा झारफुकको नाममा तातो पन्यू र अन्य धातुले हानेर इस्मा–३ दर्लामचौरका ६४ वर्षीय रामबहादुर मुखियाको गत पुस २९ गते ज्यान गयो भने दुई गम्भीर घाइते भए । बिपन्न मुखिया परिवार शोकमा डुबेका छन् । दोषीलाई कडाभन्दा कडा कारवाही हुनुपर्ने माग उनीहरुको छ । ‘रोग सञ्चो गराउने नाममा बुवालाई गुमाउनुपर्याे; मृतकका जेठा छोरा हुमबहादुर मुखियाले भने; ‘घटनाका दोषीलाई कडाभन्दा कडा कारवाही हुनुपर्छ ।’

चन्द्रकोट गाउँपालिका–३ हर्राचौरका शौभाग्य शाहको बाख्राफार्ममा अपरिचित व्यक्तिले गत पुस २३ गते आगो लगाइदिए । छिनभरमै फार्ममा रहेका २५ बाख्रा मरे । फार्मको संरचनासहित रु ७० लाखभन्दा बढीको क्षति भयो । मालिका गाउँपालिका–७ घमिरका मुमानन्द लम्सालको केरा बगानमा गत पुस २७ गते राति अपरिचित व्यक्तिले केरा फडानी गरे । त्यसका साथै पाइप र सिँचाइका सामग्रीमा क्षति गरे । तर दुवै घटनामा संलग्न अहिलेसम्म पत्ता लागेका छैनन् ।

गुल्मीदरबार गाउँपालिका–४ का ३८ वर्षीय नारायण पाध्य शर्मा चुदालीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा गत मङ्सिर ८ गते मानव बेचबिखनविरुद्धको मुद्दा दर्ता भयो । उनले गत कात्तिक २६ गते स्थानीय १७ वर्षीया बालिकालाई भारत लगेका थिए । आरोपितविरुद्ध जिल्ला अदालतले मङ्सिर १० गते पक्राउ पूर्जीसमेत जारी गर्यो । तर आरोपित गाउँमै डुलेर बस्दासमेत प्रहरीले आरोपितलाई पक्राउ गर्न सकेको छैन ।

माथिका घटना केहि प्रतिनिधिमुलक घटना मात्रै हो । पछिल्लो समय झापामा आपराधिक गतिविधिको क्रियाकलाप झन् बढ्दो क्रममा रहेको देखिएको छ । यहाँ झरफुकको नाममा तातो पन्यूले डामेर हत्या र विद्यालयमै विद्यार्थीमाथि निर्घात कुटपिट गर्नेदेखि किसानका गोठमा आगलागीसम्मका सामाजिक घटनाका गतिविधिमा वृद्धि गएको छ ।

घटनाका अपराधी ठोस रुपमा पहिचान गर्न नसक्दा र आवश्यक प्रमाणको अभावका कारण पहिचान भएपनि उचित पक्राउ र कारवाही हुन नसकेकाले पनि जिल्लामा शान्ति सुरक्षाको चुनौती झन् बढ्दै थालेको छ। पछिल्लो समय यहाँ हत्याका घटना मात्र नभई किसानमाथि आक्रमण समेत हुन थालेको देखिन्छ ।

यता, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले भने सबै घटनाका बारेमा प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको जानकारी दिँएका छन् । कतिपय घटनास्थल टाढा भएकाले पनि जिल्लाको टिम जान नपाएको उनको भनाई रहेको छ । यसका साथै स्थानीयवासीबाट राम्रो साथ र समन्वयको अभावको समस्या रहेकाले पनि अपराधिलाई उचित कारवाहि गर्न नसकिएको उनले प्रस्ट पारे ।

यस्तै, अर्का प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लामा भएका घटनाप्रति आफूहरु गम्भीर रहेको बताएकी छिन्। प्रशासन नजिकै घटेका घटनाले आफूहरुको चित्त दुखेको जनाउँदै उनले घटनाका विषयमा सुरक्षा समितिमा समीक्षा भएको बताइन् । रासस