वीरगञ्ज– मुख्य नाकाको रुपमा रहेको वीरगञ्ज भन्सार नाकाबाट चालू आर्थिक वर्षको पुससम्ममा रु ४८ अर्ब मूल्य बराबरको इन्धन नेपाल भित्रिएको छ । सो अवधिमा सबैभन्दा बढी डिजेल भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको हो ।


ADVERTISEMENT


नेपालमा खपत हुने कूल परिमाणको पेट्रोलियम पदार्थको आधा हिस्सा वीरगञ्ज नाका हुँदै नेपाल भित्रिने गरेको छ । तथ्याङ्कअनुसार, चालू आर्थिक वर्षको छ महिनामा रु ४७ अर्ब ८७ करोड १७ लाख मूल्य बराबरको पेट्रोलियम पदार्थ भारतबाट नेपाल भित्रिएको छ । यसमध्ये रु २३ अर्ब मूल्य बराबरको डिजेल आयात भएको हो ।


ADVERTISEMENT

# # #


तुलनात्मक रुपमा हेर्ने हो भने, अघिल्लो आर्थिक वर्ष २०७६/७७ को सोही अवधिमा डिजेल आयात तीन प्रतिशतले वृद्धि भएको छ । कोरोना महामारीको जोखिमलाई मध्यनजर गरी सङ्घीय सरकारले लगाएको नाकाबन्दीको कारण शुरुमा डिजेल आयात घटे पनि असोजदेखि आयात क्रमशः बढ्दै गएको भन्सार अधिकृत शैलेन्द्र अधिकारीले बताए ।

चालू आर्थिक वर्षको छ महिनामा पाँच लाख चार हजार लिटर डिजेल पाइपलाइनबाट अमलेखगञ्ज डिपोमा भित्रिएको छ भने, अघिल्लो आर्थिक वर्षको छ महिनामा चार लाख ९१ हजार लिटर इन्धन नेपाल भित्रिएको हो । भन्सार कार्यालयले चालू आवको छ महिनामा डिजेलबाट करीब २३ प्रतिशत राजश्व उठाएको छ ।

भारतको मोतिहारीबाट पाइपलाइनमार्फत डिजेल आएको नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट भन्सार कार्यालयले रु १६ अर्ब ६२ करोड डिजेलबाटै राजश्व उठाएको हो । यो अवधिमा पेट्रोल र एलपी ग्यासको आयात भने घटेको छ । पेट्रोलको आयात परिमाण ११ प्रतिशत र एलपी ग्यास १७ प्रतिशतले बढेर गएको वीरगञ्ज भन्सारले जनाएको छ ।

भन्सार नाकाबाट अघिल्लो वर्षको पुस मसान्तसम्ममा ९० हजार २ सय ४ लिटर हवाई इन्धन आयात भएकोमा चालू आर्थिक वर्षको सोही अवधिमा २६ हजार १ सय १२ लिटर हवाइ इन्धन भित्रिएको हो । चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा ५८ प्रतिशतले कोइलाको आयात बढेको छ । सो अवधिमा चार लाख आठ हजार मेट्रिक टन कोइला नेपाल भित्रिएको छ ।

अघिल्लो आर्थिक वर्षमा दुई लाख ५७ हजार मेट्रिक टन मात्र कोइला भित्रिएको भन्सारको तथ्याङ्कले जनाएको छ । भारतको मोतिहारीबाट बाराको अमलेखगञ्ज डिपोसम्म पाइपलाइनमार्फत आउने डिजेलको परिमाण नाप्न अमलेखगञ्ज डिपोमा विलिङ मेसिन राखिएको छ ।

सोही विलिङ मेसिनबाट जे जति परिमाणको डिजेल आउँछ त्यसैको आधारमा नै भन्सारले राजश्व उठाउने गरेको छ । परिमाण त्यहाँ रहेको मिटरमा देख्न सकिन्छ । रासस