किन नलेख्ने ? 

– रेशम चौधरी

‘‘अध्ययनले मानिसलाई एउटा पूर्ण मान्छे बनाउँछ । छलफलले तत्परता ल्याउँछ र लेखकले ठीक जस्तो हुनुपर्छ त्यस्तै बनाउँछ ।’’ फ्रान्सिस बेकनको यो कथनले सञ्चय शक्तिलाई क्रियाशीलतामा परिणत गरिदियो । डिल्लीबजार कारागार जेल भान्साको भित्तामा धुँवैधुँवाले पोतिएर कालै भएको उनका शब्दले मेरो मन मस्तिष्कलाई भने बिल्कुलै हल्लाइ दियो । चार दिवारमा सिर्जित हरेक सिर्जनाको श्रेय यसैलाई दिन चाहन्छु म ।

लेखिएका अक्षरहरु नै भोली इतिहास बन्छन् । लेखनले नै संसारका बडेबडे शासकहरूको कुर्सी हल्लाइदिन्छ । अभिव्यक्ति त आरिसका कारण पोखेपछि दुई चार दिनमै सामसुम हुन्छ। चुलोबाट उतारिएको तातो चियाजस्तै हो अभिव्यक्ति । तर, लेखन जति पूरानो उति ओजस्वी ।


ADVERTISEMENT

# # #


प्रवास र जेलबाट आफ्ना भनाउँदाहरूलाई गुनासो, समस्या झुकेर, थर्काएर जति अभिव्यक्त गरे पनि तराजुमा उफ्रिरहने भ्यागुताजस्तै, कहिल्यै धार्नी नपुग्ने । त्यसैले फ्रान्सिसको कथनले मेरो दिमागमा बत्ती बलायो, ‘लेख रेशम लेख ।’ तेरो गुनासो र समस्यालाई नसुने झैं गर्ने शासक र सामन्ती नेतालाई तैंले लेखेका अक्षरले तातो झीर भई घोचिरहनेछन् । अनि मलाई लाग्यो, बोको भई बगरेका अघि याचना गर्नुभन्दा सिंह भई गर्जिएर भिड्नु बेस । जिते राजा भइन्छ नत्र मरिन्छ ।

भान्सामा चामल छैन, बच्चाबच्चीको स्कुल फिसको बिल आइसक्यो । जेलमा जाडो छ, न्यानो ओड्ने र ओच्छ्याउने डसनाको लागि फोनमा आफू आबद्ध पार्टीसँग धेरै रोएँ म । श्रीमती तिनको दैलो दैलो याचना गर्न पुग्थिन् । सहानुभूतिबापत कुर्ताको खल्तीबाट दुई चार हजार थमाएर उच्चकोटिको भिखारीझैं बिदा गरिदिन्थे नेताहरू । ती सबकले मलाई पाठ सिकायो र माग्नै छोडिदिएँ । जेलमा गीत गाएर एल्बम निकाल्न, कराते सिकाउन, फिल्म, विज्ञापन छायाङ्कन गर्न, रेडियोमा बोलेर पैसा कमाउन सबै सम्भव थिएन । तर, मेरा लागि ईश्वरले अझै एउटा युक्ति साँची दिएका रैछन् – ‘पुस्तकले लेख्न ।’

बेकनको यही कथनले लेखेरै परिवार पाल्न सक्छु भन्ने ममा उर्जा पलायो । छोराछोरीको स्कुल फिस, श्रीमतीको चुलोचौको र मेरो जेलको आवश्यकता पक्कै पूर्ती हुन्छ भनेर हौसिँदै लेखनमा जुटें । यसले मलाई साँच्चिकै सफलता दिलाएको छ । अहिले जेलमै मेरा लागि पुस्तक, फिल्म लेखिदेउ भन्नेहरूको ताँती भेट्टाएको छु मैँले ।

यसरी आफूमाथि आइपरेको बज्रपातको छेकबार मैँले कलम चलाएर गर्ने अठोट गरें । ममाथि आइपरेको समस्या किन नलेख्ने ? मेरा नाममा राजनैतिक फाइदा लुट्ने लुटेराहरुलाई मेरा अक्षरले किन परास्त नगर्ने ? मैँले पाएका दुःख ऐतिहासिक किन नबनाउने ? पीडामा मलहम लगाउने सहयोगीहरूको गाथा किन नलेख्ने ? परिवन्दमा पारेर अर्काको निजी जिन्दगी समाप्त पार्ने स्वार्थीहरुको रुद्ध म किन नउभिने ? यही कुरा अभिव्यक्त गरे गृष्मको हावाजस्तै दुई महिना त पोल्ला । तर, लेखिदिए इतिहासकालसम्मै तिनका लागि खबरदारी बन्नेछ भनेरै अठोट गरे“ मैँले – किन नलेख्ने ?

प्रवासमा भात खान पाइन्छ कि भनेर एक महिनासम्म टेम्पो चलाएँ । दिउँसो कसैले चिनीहाल्छ कि वा कुनै सुराकीले समातेर सुरक्षाकर्मीलाई बुझाइदिन्छ कि भनेर बेलुकी ६ बजेदेखि रातको ११ बजेसम्म लखीमपुरको रेलवे स्टेशनदेखि बसपार्कसम्मको रुटमा एक महिना टेम्पो चलाएको थिएँ मैँले । भाडामा लिएको टेम्पो सस्तै थियो । साहुलाई दैनिक ५० रुपैयाँ बुझाए मात्र पुग्ने । तर, नियम कडा थियो, साँझ टेम्पो गुडाउनुभन्दा पहिले धाराबाट बाल्टिनले पानी बोकेर चिटिक्क सफा पारेर धुनुपर्थ्यो । राति बुझाउँदा पनि उस्तै । ठोक्किएको, नठोक्किएको सबै जानकारी गराई खरक्क ५० रुपैयाँ दाम हातमा ठम्याउनै पर्ने । नखरा नचल्ने, कमाए पनि नकमाए पनि सर्लक्कै दाम दिनैपर्ने र कहिलेकाहीँ नजरनास्वरुप साथमा गुट्खाको पुरिया पनि ।

चलाउनु भन्दा पहिले टेम्पो बुझ्न जाँदा साहुजी घरको तला माथिबाटै चिच्याउँथे – ए नेपाली भाइ, टेम्पो सफा सुग्घरी करेके ले जाओ, कहीँ खरोच देखना ना पडे । (ए नेपाली, टेम्पो धोएर मात्रै लैजाउ, कतै कोरिएको पनि देख्नु नपरोस् ।)

उनकी श्रीमतीले सारीको फेरोबाट चाबी निकालेर तलामाथिबाटै मिल्काउँदै भन्थिन् – ले जाओ भैया । (लैजाउ भाइ ।)

नेपालमा मेरो आफ्नै ‘लक्जरियस’ कार थियो । कतै काममा निस्कनु भन्दा पहिले रञ्जिताले मोटरको पानी चलाएर धोइ पखाली गरिदिन्थिन् । मेरो जस्तो सुविधासम्पन्न र सुख सयली जीवन टेम्पो साहुको पक्कै थिएन । तर, पनि जिन्दगीको मोडले मलाई उसको टेम्पो भाडामा लिएर चलाउन बाध्य बनायो ।

भाडामा टेम्पो चलाउने निर्णय गरेर उसका सामु उभिँदा उसले मलाई निकै घुरेर हेरेको थियो । ऊ मैलोधैलो, म सफासुग्घर । उसको नाडी मयलले कक्रिएको थियो, मेरो नाडीमा महँगो रोलेक्स घडी चम्किरहेको थियो । उसको गलामा जन्तर बाँधिएको धागो थियो भने मेरो गलामा गणेशको लकेटसहितको अढाइ तोलाको सुनको सिक्री । उसको औंलामा कछुवा अंकित चाँदीको औंठी थियो र मेरो औंलामा रातो मुगाले सजिएको तोलाभरको औंठी । सबै भएपनि बजारमा सरासरी चल्ने रुपैयाँ भनाउँदो कागजको खोष्टो थिएन मसँग । त्यसैले मजबुरले महात्मा गान्धी भएर उसको टेम्पो भाडामा माग्दै थिएँ म ।

त्यसो त सुनको सिक्री बेचेर खाने प्रयत्न नगरेको होइन मैँले । तर, बेच्नका लागि पसल जाँदा चोरीको आरोप लागेर मलाई झण्डै समातिएन । एक नेपालीले सुन बेच्न जाँदा त्यहाँको पसलेको दृष्टि कस्तो हुँदोरहेछ मैँले राम्ररी बुझें । बिल जति घरसँगै टीकापुरमा जलिसकेको थियो । बिल देखाउन नसकेपछि कहाँ से चोरके लाया भाइ ? भन्ने पसलेको सोधाइले अवाक भएँ म । बम्किएर बाहिर ननिस्किएको भए सुन पसलले या त मेरो गरगहना लुटपाट गरिदिन्थ्यो, या त प्रहरीको जिम्मा लगाई दिन्थ्यो । त्यसो त उसले मलाई त्यो व्यवहार गर्नुको कारण धेरै यहाँबाट गएका साथीहरूको गर्ने कर्तुतको कारणले पनि होला ।

सौ, पचास फाइदा भएपनि त्यो काम लामो समय गर्न मेरो नियत र नैतिकता दुवैले दिन्थेन । अन्ततः दिल्लीमा सञ्जय भाइले आश्रय दिएपछि मैँले त्यो काम छोडीदिएँ । अहिले जेलमा पुस्तक लेख्दा मैँले विगतको मेरो यो पीडा किन नलेख्ने ?

जेलमै एकपटक इन्तु न चिन्तु बिरामी भएँ म । बिरामी भएर अस्पताल भर्ना भएको करिब १५ दिनपछि म समर्थित पार्टी राजपाका एक संयोजक मलाई भेट गर्न आए । म भर्ना भएको क्याविनको ढोका खोल्दै हालखबर सोध्नुको सट्टा ‘‘माननीयज्यू बताइए, आप कौन पार्टीसे कितना मत लाकर विजय हुए है ?’’ भनेर सोधे । आफ्नो दल संयोजकको यस्तो असान्दर्भिक प्रश्नले म कस्तो पार्टीको सांसद रहेछु भनेर निकै दिनसम्म आत्मग्लानी भो मलाई । संयोजकको यो व्यवहार प्रत्यक्ष देख्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र थारु साक्षी छन् । आदिमकालदेखि समाज र राज्यबाट दास बनाइएका आफ्नो वर्गीय अधिकार लागि लडिरहेको मजस्तो नेताले त्यो व्यवहारको वास्तविकता किन नलेख्ने ?

बाल्यकालका मेरा साथी ‘भौना’ मित्रतृष्णा कारागारमा भेट्न आएका थिए । उनले हाम्रो घरमा बाख्रा चराउँदा म स्कुल जान्थें । म मालिक पुत्र स्कुले विद्यार्थी थिएँ, उनी कमैयापुत्र बाख्रा गोठालो थिए । हिजो हाम्रो घरमा बाख्रा चराएबाफत वार्षिक २०० रूपैयाँ उनको पारिश्रमिक थियो । जेलमा मलाई भेटेर फर्किदा उनले एउटा सुन्ना थपेर दुई हजार रुपैयाँ मेरो खल्तीमा हालिदिए । उनको मित्रप्रेमले मलाई भावुक मात्रै बनाएन, निकै समय सोचमग्न समेत बनायो । एकातिर मेरो सम्बद्ध दलका धनी जमिन्दार नेताहरुले मलाई च्याँखे थापेर राजनीति सोझ्याउने दौडमा मात्रै थिए भने अर्कातिर गरिबीसँगै दैनिकी गुजार्दै गर्दा पनि बालसखा भौनाको मप्रति असीम प्रेम थियो । भौनासँग बिताएका विगतको सम्झनाले मलाई उनको बारेमा लेख्न बाध्य बनायो । उनीसँग गुजारेका मित्र कथा मैँले किन नलेख्ने ?

जापार वापार दुवै थरुहट थियो । यहाँ कुनै नेपाल भारतका शासक प्रशासक थिएनन्, सबै थरवाट क्षेत्र थियो । जता गएपनि थारु गाउँ मात्रै । लेनदेन, बिहेवारी सब चल्थ्यो । अहिले पनि चलेकै छ । तर, अलि फरक तरिकाले । विगतको सम्झनाले वर्तमानमा पनि एक आफ्नै जातपुत्र ठानेर संरक्षकत्व प्रदान गर्नेलाई मलाई कुन मानवियताले भुल्न दिन्छ ? त्यसैले प्रवासमा बसेर निर्वाचन लडिरहँदा आफ्नै सन्तानसरह ममत्व प्रदान गरेर विजयपथमा सघाउने अइयाको कथा मैँले किन नलेख्ने ?

आफूले मजदुरी गरेर जीवनयापन गरेता पनि सम्पूर्ण समुदायको हकअधिकारको लागि लडिरहेको दाजुलाई भारतमा दुःख नहोस् । कसैले नहेपोस् । यो हाम्रो नेता र समुदायकै खम्बा हो भनेर आफ्नैतिरको सुरक्षाकर्मीसँग भिड्न खोज्ने गौरीको साहस र सम्मानको कथा मैँले किन नलेख्ने ?

ढाडको अवस्था बिग्रिएर झण्डै प्यारालाइसिस हुने अवस्थामा उपचाररत बिरामीलाई हात्तीसाङ्लो फलामे जञ्जिर लगाइदिने सुरक्षाकर्मीको ज्यादती मैँले किन नलेख्ने ? म पनि सामाजिक प्राणी हुँ । मेरो पनि अरुजस्तै घरबार परिवार छ । मेरो बाल्यकालमा जन्मदिन मनाउने चलन र परम्परा दुबै थिएन । तर, अहिले यो अनिवार्य भैसक्यो । जीवनक्रममा जन्मेको छोरो राजनैतिक दुर्घटनाका कारण मेरो कोखमा खिल्लिन पाएन । विस्तरामा सुतेर आफ्नो बाबासँग तकिया फालाफाल गरेर छिल्लिन पाएन । हट् घोडा हट् भन्दै मेरो ढाडलाई टाँगन घोडा बनाउन पाएन । त्यसकारण आफ्नो बाबासँगको बालरति स्मरणका लागि कुनै विषय हुनेछैन ऊसँग ।

जेलमा भेट्न आउँदा यो हाम्रो अर्को घर हो ? भन्ने उसको प्रश्नको सही जवाफ थिएन म सँग । उसको सोधाइमा भक्कानिन लागेको छाती र छल्किन खोजेको परेली रोक्न निकै कठिन भो मलाई । तर पनि जबरजस्ती नियन्त्रण गर्दै उत्तर दिएको थिएँ – ‘होइन छोरा, यो त म पढ्न बसेको होस्टल हो ।’ कहिलेकाहीँ ऊ मसँग जेलमै सुत्ने जिद्धि गर्थ्यो । सम्झिनुस्, त्यस्तो अवस्थामा एक बाबुलाई आफ्नो छोरो फकाएर आमाको साथ पठाउँदा मलाई कम्ता सकस हुन्थ्यो होला ?

बाल्मिकीले रामायणमा दशरथको पुत्र वियोग कथा त्यसै कोरेनन् । मान्छेसँगै करुणा, भावना सबै हुने हो । हरेक जन्मदिनमा म उसका लागि विशेष हुन्थेँ । छोरालाई दिने उपहारका कारण उसको जन्मदिनमा रञ्जिता विछट्टै उमंगित हुन्थिन् । यही उसको बाल जीवनको महत्वपूर्ण यात्रामा मेरो अनुपस्थितिलाई उसले के सोच्दोहोला ? आफ्नो नवौं जन्मदिनको बेलुकीपख केक काट्दै उसले आफ्ना साथीहरुलाई आमा साक्षी राखेर सुनाएको थियो रे, मेरो बाबा होस्टलमा हुनुहुन्छ, म उहाँलाई भोलि केक लगिदिन्छुँ है मामु ! यो सुनेर उसका साथीहरुसँग आएका आमाहरुले आँशु पुछेका थिए रे । भोलिपल्ट बासी केक कारागारमा ल्याएर दिँदै रञ्जिताले मलाई यो कुरा सुनाएकी थिइन् । यो सुनेर हप्तौंसम्म मेरा परेली छल्किरहे ।

प्रतिकृया

प्रतिकृया