डोटी–जिल्ला सदरमुकाम सिलगढी तथा दिपायलमा एक महिनायता भइरहेको विद्युत् कटौतीले उपभोक्ता मारमा परेका छन् । दैनिकजसो विद्युत् अनियमितताका कारण यहाँका व्यवसायीलाई निकै हैरानी हुन थालेका हुन् ।


ADVERTISEMENT


पूर्व सूचनाबिना विद्युत कार्यालयले पटकपटक विद्युत कटौती गर्न थालेपछि स्थानीयवासी आक्रोशित हुन थालेका छन्। विद्युत् अनियमितका कारण यहाँका मिल व्यवसायीदेखि इलेक्ट्रोनिक व्यवसायी बढी मारमा परेको किरण इलेक्ट्रोनिक दिपायल पिपल्लाका किरण भण्डारीले बताए । ‘दैनिक विद्युत अनियमितताका कारण मिल व्यवसायी र हामी बढी मारमा परेका छौँ; उनले भने ।


ADVERTISEMENT

# # #


मिनेट–मिनेटमा बिजुली बत्ती आउने र जाने समस्याले स्थानीयवासीले दुःख पाइरहेको गुनासो र विद्युत प्राधिकरणमा खबर गर्दा पनि सुनुवाइ नभएको उपभोक्ताको भनाइ छ । साँझ र बिहानपख तालीकाबिना लोडसेडिङ हुँदा घरेलु उपभोक्ता बढी समस्यामा परेका छन् । विद्युत अनियमितताका कारण एफएम रेडियो तथा पत्रपत्रिका पनि समयमा प्रकाशन तथा प्रशारण हुन नसकेको स्थानीय पत्रकार तेजु ओलीले जानकारी दिए ।

पछिल्लो समय विद्युत् अनियमितका कारण व्यवसायी, बैंक, सहकारी, गैरसरकारी कार्यालयका काम कारवाहीमा असर पुगेको राष्ट्रिय वाणिज्य बैंक दिपायलका प्रबन्धक गणेशबहादुर विष्टले बताए ।  ‘दैनिक विद्युत् कटौतीले बैंकमा आउने सेवाग्राहीलाई समस्या हुने गरेको छ, खाता खोल्नदेखि रकम भुक्तानीमा समेत समस्या हुने गरेको छ; उनले गुनासो पोखे ।

यता, विद्युत कार्यालय दिपायलका प्रमुख कुम्भ जोशीले भने, चिसोले गर्दा कारण विद्युत्को माग बढी तथा उत्पादन कम भएका कारण विद्युत् अनियमितता भएको र यो समस्या चाँडै समाधान हुने बताएका छन् ।

‘विद्युतको माग र खपत बढी छ, उत्पादनमा केही कमी भएकाले समस्या भएको हो । त्यसको समाधानका लागि हामी लागिपरेका छौँ; उनले भने । रासस