काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले नेकपा प्रचण्ड–नेपाल समूहले बिहीबारका लागि घोषणा गरेको आमहड्तालका कारण परीक्षा नरोकिने स्पष्ट पारेको छ । प्रचण्ड–नेपाल समूहले भोलि अत्यावश्यक बाहेकका यातायात बन्द गर्ने बताइरहँदा त्रिविले भने कुनै पनि हालतमा परीक्षा नरोकिने बताएको हो ।


ADVERTISEMENT


बुधबार हिमालयपोष्टसँग कुराकानी गर्दै त्रिवि परीक्षा सहनियन्त्रक डा. घनश्याम ठाकुरले परीक्षा पूर्वनिर्धारित तालिका अनुसार नै सञ्चालन गरिने बताए । प्रवेशपत्र देखाएमा परीक्षार्थीहरुले आफ्ना सवारी साधन चलाउन पाउने भए पनि आफ्नो सवारी नभएकाहरु त अप्ठ्यारोमा पर्छन् नि भन्ने प्रश्नमा उनले त्यसको जिम्मा त्रिविले लिन नसक्ने बताए ।


ADVERTISEMENT

# # #


‘उहाँहरु (आम हड्ताल घोषणा गरेका प्रचण्ड–नेपाल समूह)ले परीक्षार्थीलाई जान दिने भन्नुभएको छ । हाम्रो काम परीक्षा लिने हो, बाँकी कुरा परीक्षार्थीकै जिम्मा ।’ सहनियन्त्रक डा. ठाकुरले भने, ‘हामीसँग केही उपाय छैन । आफ्नो सवारी नभएकाहरु पैदल आउलान् नि !’

माओवादी जनयुद्धमा समेत परीक्षा नरोकिएको स्मरण गर्दै उनले हिमालयपोष्ट सँग भने, ‘प्रश्नपत्रहरु स्कर्टिङ गरेर परीक्षा केन्द्रमा लैजान्छौँ । कुनै पनि हालतमा परीक्षा रोकिँदैन ।’ नियमित कक्षा सञ्चालन भने भोलि हुने छैनन् ।

अहिले विभिन्न संकायका स्नातकोत्तर र स्नातक तहका विद्यार्थीहरुको परीक्षा संचालन भइरहेको छ।