सिरहा – नेकपा प्रचण्ड–नेपाल समूहले हिजो आमहडताल घोषणा गर्दा अत्यावश्यक बाहेकका सेवा सञ्चालन हुन नदिने भनेपनि आन्दोलन शान्तिपूर्ण रहने बताएको थियो । गृह मन्त्रालयले भने कुनै पनि सेवा बन्द हुन नदिने र शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप नगर्ने भन्दै बुधबार साँझ विज्ञप्ति जारी गर्‍यो ।


ADVERTISEMENT


तर, आन्दोलन घोषणा गर्ने समूहले भनेजस्तो अत्यावश्यक बाहेकका सबै थोक बन्द भएपनि आन्दोलन भने शान्तिपूर्ण रहेन । न त गृह मन्त्रालयले भनेजस्तो सबै सेवा सञ्चालन हुन सक्यो ।


ADVERTISEMENT

# # #


आन्दोलनकारीहरुको अराजकता र प्रशासनको निरीहताले अत्यावश्यक काममा हिंडेका सर्वसाधारणले पनि दुःख भोगेका छन् । बन्दको उल्लंघन गरेको भन्दै उनीहरूले सर्वसाधारणको सवारीसाधन तोडफोड गर्नेदेखि हातपात गर्नेसम्मका कार्य गरेका छन् ।

सिरहाको मिर्चैयामा मात्रै आन्दोलनकारीहरुको भाटाले झण्डै एक यात्रीको टाउको फुटेन । एक सर्वसाधारण मोटरसाइकलमा कतै जाँदै थिए । त्यतिकैमा आन्दोलनकारीहरु उनको मोटरसाइकल रोक्छन् ।

त्यहाँ उपस्थित सबैका हातमा भाटा छ । र, ती भाटावालाहरु उनका कुरा पनि नसुन्दै मोटरसाइकल र उनीमाथि भाटा बर्साउन थाल्छ । त्यतिमात्रै होइन, त्यो उछृङखलताको भिडियो लिइराखेका हिमालय पोष्टकर्मी श्यामकुमार ठाकुरमाथि समेत उनीहरूले दुर्व्यवहार गरे । केहि छिनपछि रिपोर्टिङमा रहेका एक अर्का पत्रकारको पनि मोटरसाइकलको साँचो खोसियो ।

यो उदाहरण मात्रै हो । यहाँ बिहानैदेखि यो क्रम चलिरह्यो । यहाँ पार्टीका ठूलै नेताहरूको प्रत्यक्ष सहभागिता रहे नि आन्दोलन व्यवस्थित देखिएन । अन्य अधिकांश ठाउँको अवस्था पनि यस्तै रह्यो ।

जनतालाई दुःख दिइने आन्दोलन जनताहितको हुन नसक्ने पत्रकार तथा बुद्धिजीवी देवकुमार यादव बताउँछन् । ‘राजनीतिक आन्दोलन जनतालाई दुःख दिन होइन,’ उनले भने, ‘शासकलाई सबक सिकाउन हुनुपर्छ ।’