काठमाडौ,
२३-असोज /   राजधानीमा डेंगु रोगको जोखिम उच्च रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। डेंगु रोगका बिरामी अस्पतालमा नआए पनि उच्च जोखिम रहेको र विशेष सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको हो।
यस वर्ष ३५ जिल्लाका २ सय १० जनामा डेंगु रोग देखा परेको छ। जसमध्ये सबैभन्दा बढी सर्लाहीमा डेंगु रोगको संक्रमण देखा परेको स्वास्थ्य मन्त्रालयका जोखिम नियन्त्रण निरीक्षक उत्तमराज प्याकुरेलले जानकारी दिनुभयो। सर्लाहीमा १ सय ७, धादिङमा २५, चितवनमा १२ जनालाई डेंगु रोग देखा परेको छ। यस्तै काठमाडौंसहित रूपन्देही, नवलपरासी, धनुषालगायतका जिल्ला डेंगु रोगको जोखिममा परेका छन्। नेपाल समाचार पत्र दैनिकमा खबर छ ।


ADVERTISEMENT


सरकारले चालू आर्थिक वर्षमा डेंगु रोग नियन्त्रणका लागि ६० लाख रुपियाँ बजेट विनियोजन गरेको छ। जोखिमको प्रकृति हेरेर कम जोखिम भएका जिल्लामा २ लाख र उच्च जोखिम भएका जिल्लामा १० लाख रुपियाँसम्म बजेट विनियोजन गरिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ। सरकारले बजेट छुट्याए पनि बजेट निकै न्यून मात्रामा विनियोजन गरिँदा जोखिम नियन्त्रणका लागि सञ्चालित कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको सरोकारवाला निकायका अधिकारीहरूले स्वीकार गरेका छन्।
जोखिम नियन्त्रण निरीक्षक प्याकुरेलले भन्नुभयो– ‘डेंगु रोग सार्ने लामखुट्टेको लार्भा नष्ट गर्ने काम गरिरहेका छौं। साथै जनचेतनामूलक कार्यक्रमलाई समेत अघि बढाएका छौं। यस वर्ष स्वास्थ्य मन्त्रालयले जोखिम नियन्त्रणका लागि ३५ जिल्लामा बजेटसमेत छुट्याएको छ।’


ADVERTISEMENT

# # #


डेंगु ज्वरो रोगको प्रकोप रोकथाम तथा नियन्त्रणअन्तर्गत बजार क्षेत्रमा पानी राख्ने भाँडा, ट्यांकी, खाल्डाखुल्डी पुर्ने र पानीमा लामखुट्टेको बसाइ रहे नरहेको हेरी नष्ट गर्ने कार्यक्रम सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो। गत वर्ष १ हजार ५ सय २९ जनामा डेंगु रोग भेटिएको थियो भने २ जनाको ज्यान गएको थियो।

डेंगु ज्वरो एडिस एप्टिई जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने सरुवा रोग हो। यो रोग सार्ने लामखुट्टे शहरउन्मुख क्षेत्रमा बढी पाइने भएकाले शहरी रोग पनि भन्ने गरिन्छ। यस जातको लामखुट्टेले सफा पानी जमेका स्थानमा फुल पार्ने गर्दछ।

खास गरी वर्षाको पानी जम्ने टिनका डब्बाहरू, रंगका खाली डब्बाहरू, थोत्रा टायरहरू, मट्टीतेलका खाली ड्रमहरू, फूलदानी, गमला, कुलर, पानीका ट्यांकी आदिमा यसले फुल पार्ने गर्दछ।

एक्कासि उच्च ज्वरो आउनु, धेरै टाउको दख्नु, आँखाको गेडी तथा पछिल्लो भाग दुख्नु, ढाड जोर्नी तथा मांसपेशीहरू दुख्नु, शरीरमा बिमिरा आउने, रक्तश्राव हुने लक्षण देखा परेको खण्डमा डेंगु ज्वरो भएको शंका गर्न सकिने पाल्पा मेडिकल कलेजमा कार्यरत डा. नवीन पोख्रेलले बताउनुभयो।

डेंगुविरुद्ध हालसम्म कुनै भ्याक्सिन आएको छैन। २००६ मा भारतबाट आएका एक जना नेपाली नागरिकमा पहिलोपटक डेंगु रोग देखा परेको थियो।