काठमाडौं,
२३-असोज / निर्वाचन क्षेत्रको सिट बाँडफाँटको विषयलाई लिएर वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन दुवैमा विवाद देखिएको छ । लोकतान्त्रिक गठबन्धनमा रहेका  राजनीतिक दलमध्ये समाजवादी फोरम र राजपाले ५५ सिट माग गरेका छन् । त्यसमध्ये २ नम्बर प्रदेशका धेरै निर्वाचन क्षेत्र उनीहरुले माग गरेका छन् । नेपाल लोकतान्त्रिक फोरमले २० सिट माग गरेको छ । कैलाली, बाँके, दाङ, रुपन्देही, नवलपरासी लगायतका जिल्लामा गरेर २० क्षेत्र आफूले पाउनुपर्ने माग नेपाल लोकतान्त्रिक फोरमका रामजनम चौधरीले जानकारी दिए ।


ADVERTISEMENT


 

उनका अनुसार अहिले २० सिट माग गरे पनि बिस्तारै सहमति हुन सक्ने बताए ।  त्यसैगरी राप्रपाले झापा, मकवानपुर, बाँके लगायतका जिल्लामा गरेर २१ सिट माग गरेको छ ।


ADVERTISEMENT

# # #


 राप्रपा प्रजातान्त्रिकले पनि धनकुटा, चितवन, रुपन्देही, सिन्धुपाल्चोक लगायतका जिल्लामा गरेर १५ निर्वाचन क्षेत्र माग गरेको छ । कांग्रेस नेता विमलेन्द्र निधि नेतृत्वको कार्यदलमा सहमति कायम हुन नसकेपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सबैलाई चित्त बुझ्नेगरी सहमति गरेर प्रस्ताव ल्याउन जिम्मा दिइएको नेता चौधरीले जानकारी दिए ।

त्यसैगरी वाम गठबन्धनको कार्यदलमा पनि सहमति कायम हुन नसकेपछि क्षेत्र टुंगो लगाउने जिम्मा शीर्ष नेतालाई दिइएको छ । एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेतृत्वको वाम गठबन्धनले निर्वाचन क्षेत्र बाँडफाँट टुंग्याउन नसकेपछि शीर्ष नेताहरुलाई जिम्मा दिइएको हो । बिहीबार शीर्ष नेताहरूले तीन दिनभित्र निर्वाचन क्षेत्र बाँडफाँट गर्न कार्यदललाई जिम्मा दिएका थिए ।

तर, उक्त समय अवधिभित्र क्षेत्र बाँडफाँट गर्न नसकिएको कार्यदलका सदस्य मातृका यादवले जानकारी दिए ।  “हामीले टुंग्याउन नसकेपछि शीर्ष नेताहरूलाई जिम्मा दिएका छौँ,” उनले भने ।

उनका अनुसार नयाँ शक्तिलगायत सूर्य चिह्न लिएर लड्न खोजेका राजनीतिक समूहलाई कति सिट दिने भन्ने टुंगो नलागेसम्म कार्यदलले ६०-४० भागवन्डा मिलाउन नसकेको हो ।

“एमाले, माओवादी केन्द्रबाहेकका दललाई कति सिट दिने भनेर टुंगो नलागेकाले हामीले मात्रै निष्कर्षमा पु-याउन सकेनौँ । त्यही भए आइतबार बैठक बसेन । शीर्ष नेताहरूले सिट निर्धारण गरेपछि क्षेत्र निर्धारण गर्छौं,” उनको भनाइ थियो ।

क्षेत्र निर्धारण समितिमा एमाले महासचिव ईश्वर पोखरेल, माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’, एमाले उपमहासचिव विष्णु पौडेल, माओवादी केन्द्रका नेता वर्षमान पुन, एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, माओवादी केन्द्रका नेता मातृका यादव र नयाँ शक्तिबाट गंगा श्रेष्ठ रहेका छन् ।
-बाह्रखरी