बागलुङ – ताराखोला गाउँपालिकाका किसान व्यावसायिक फलफूल खेतीतर्फ आकर्षित बनेका छन् । कृषिजन्य उत्पादनमार्फत आत्मनिर्भर बन्ने लक्ष्यसहित किसान फलफूल खेतीमा लागेका हुन् । फलफूल व्यवसाय प्रवद्र्धनका लागि सरकारले घोषणा गरेको ‘फलफूल दशक’ कार्यक्रमअन्तर्गत किसानले अनुदानसमेत पाएका छन् ।


ADVERTISEMENT


ताराखोलाका ६०० किसानलाई फलफूल खेतीमा व्यावसायिक बनाउने उद्देश्य लिइएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताउए। उनका अनुसार फलफूल खेतीमा सङ्घीय सरकार, गाउँपालिका र किसानको समेत लागत साझेदारी छ । किसानले विभिन्न ठाउँमा गरी छ हजार ८०० ओखर, एक हजार ६०० किबी र ५०० बदामका बिरुवा लगाएका छन् ।


ADVERTISEMENT

# # #


सात सय ५० हेक्टरमा ओखरखेती गरिएको गाउँपालिकाका आर्थिक विकास शाखा प्रमुख चिन्तामणि शर्माले जानकारी दिए । टर्कीबाट ल्याइएका दाँते ओखरका कलमी बिरुवा दुई हजार ८०० र नेपालमै खरिद गरिएको चार हजार बिजु बिरुवा किसानलाई वितरण गरिएको उनको भनाइ छ । टर्कीबाट ल्याउँदा रु ५५० मूल्य परेको ओखरको कलमी बिरुवा किसानलाई ५० प्रतिशत अनुदानमा दिइएको छ । यस्तै नेपालकै बिजु बिरुवा किसानले रु ७५ मा पाएका छन् । कृषि प्राविधिकको अध्ययनबाट ओखरखेतीका लागि ताराखोलाको माटो र हावापानी उपयुक्त देखिएपछि खेती शुरु गरिएको हो ।

‘न्यूनतम दुई रोपनी क्षेत्रफलदेखि माथि ओखर खेती गर्ने किसान हुनुहुन्छ”, शाखा प्रमुख शर्माले भने, ‘५५० पर्ने ओखरको बिरुवा किसानले जम्मा रु २५० मा पाउनुभएको छ ।’ पँधेराखोला र बराहखोलामा ठूलो मात्रामा ओखर खेती गर्ने योजनामा किसान छन् । न्यूनतम दश बिरुवासम्म लगाउने किसानले मात्र अनुदान पाएको गाउँपालिकाले जनाएको छ ।

ओखरसँगै किबी र बदामका बिरुवा पनि किसानलाई अनुदानमा वितरण गरिएको छ । हाल आठ हेक्टरमा रहेको किबी खेती विस्तारका लागि यो वर्ष थप एक हजार ६०० बिरुवा अनुदानमा बाँडिएको हो । रु तीन सय पर्ने किबीको बिरुवामा पनि किसानले ५० प्रतिशत अनुदान पाएका छन् । यसअघि किबी पकेट क्षेत्रमा समेटिकाबाहेक वडा नं ३ को बराहखोला, पँधेराखोला, वडा नं २ को खुल्डाँडा, हल्पु, नागबेली खोला, वडा नं ५ को औलादी, मपेस, सिपपलगायतका ठाउँमा किबी खेती शुरु गरिएको हो ।

यस्तै ताराखोलामा पहिलोपटक बदाम खेती पनि शुरु गरिएको छ । किसानलाई बदामका ५०० बिरुवा वितरण गरिएको गाउँपालिकाले जनाएको छ । रु पाँच सय पर्ने बदामको बिरुवा अनुदान छुटमा किसानले रु २५० मा पाएका छन् । बिरुवा रोप्नका लागि एक खाल्डो बराबर रु ३० अनुदान किसानलाई उपलब्ध गराइएको छ ।

शाखा प्रमुख शर्माका अनुसार ५०० किसानले ओखर, ५० जनाले किबी र ५० जनाले बदाम खेती शुरु गरेका हुन् । फुलफूल खेतीका लागि सङ्घ सरकारबाट रु सात लाख, गाउँपालिकाको सात लाख र बाँकी किसानको लगानी परेको छ । फलफूल खेतीले किसानको जीवनस्तर उकासिने गाउँपालिकाका अध्यक्ष घर्तीको विश्वास छ । ‘कृषि र पशुपालनसँगै स्थानीय उत्पादनमा आधारित उद्यम, व्यवसायबाट गाउँपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्य लिएका छौँ,’ उनले भने । स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरणका लागि गाउँपालिकामा औद्योगिक ग्राम निर्माणको काम पनि अघि बढेको छ । रासस