काठमाडौँ – बैतडीको दोगडाकेदार गाउँपालिकामा १७ वर्षीय किशोरी भागरथी भट्टको विभत्स अवस्थामा शव भेटिएको घटनाप्रति विवेकशील साझा पार्टीले दुःख व्यक्त गरेको छ ।
आइतबार एक विज्ञप्ती जारी गर्दै विशेकशील साझाका प्रवक्ता शरदराज पाठकले लात्कारको आशङ्का गरिएको उक्त घटनाको यथाशीघ्र निष्पक्ष र वैज्ञानिक अनुसन्धान गर्न माग गरेका हुन् । उनले घटनामा संलग्न पहिचान गरी दोषीलाई कडाभन्दा कडा कारबाही गर्न समेत माग गरेका छन् ।
विज्ञप्तीमा उनले भनेका छन्, ‘हत्या हुनुअघि बलात्कारको आशङ्का गरिएको यो घटनाको यथाशीघ्र निष्पक्ष र वैज्ञानिक अनुसन्धान गरी दोषीलाई कानुनको दायरामा ल्याउन स्थानीय प्रशासन र सरोकारवाला सुरक्षा निकायहरूसँग विनम्र अनुरोध गर्दछौँ ।’
उनले घटनालाई राजनीतिकरण हुने र दोषी पक्ष नै राज्यबाट संरक्षित हुने विगत दोहोरिन नदिन सचेत गराएका छन् । सरकार नागरिकको जीउधनको रक्षा गर्न असफल भएको बताउँदै उनले भनेका छन्, ‘विवेकशील साझा पार्टी सम्पूर्ण नागरिक वर्ग र पार्टीका स्थानीय समितिहरूलाई भागरथी हत्याबारे बैतडीमा स्थानीय प्रशासन तथा प्रहरीको काम कारबाहीलाई मिहिन ढङ्गबाट नियाल्न आग्रह गर्दछ ।’