ताप्लेजुङ– गाउँपालिका ७ घुन्सा अवस्थित धुपी तेल उद्योग १० वर्षदेखि बन्द छ । विसं २०६४ मा स्थापना भएको सो उद्योग दर्ता गर्ने प्रक्रिया झन्झटिलो हुँदा बन्द भएको बताइएको छ । हिमाली क्षेत्रमा पाइन धुपीलाई प्रशोधन गरेर तेल उत्पादने लक्ष्य लिइएको थियो । उद्योग बन्द भएको १० वर्ष भएको उद्योग सञ्चालक पेमा शेर्पाले जानकारी दिए ।
उनले उद्योग स्थापना भएको करीब तीन वर्ष सञ्चालनपछि बन्द गर्ने अवस्था आएको बताए । स्थापना भएदेखि २३० लिटर मात्र तेल उत्पादन भएर बन्द भएको हो । स्थानीयवासीको आयआर्जन गर्ने उद्देश्यले कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिद्षले २०६४ सालमा उद्योग स्थापनाको लागि आश्यक सामग्री औजार समूहलाई हस्तान्तरण गरेको थियो ।
उद्योग दर्ता प्रक्रियाको लागि घरेलु तथा साना उद्योग कार्यालयमा आश्यक कागजातसमेत बुझाएको सञ्चालक शेर्पाले बताए ।
फुङलिङबाट उद्योग भएको स्थान घुन्सा पुगेर फर्किन कम्तीमा ७ दिन पैदल हिँड्नुपर्छ । कार्यालयले प्राविधिकलाई अवलोकन गर्न जाँदा लाग्ने सबै खर्च उद्योग सञ्चलकले गर्नुपर्ने भनेपछि आफूसँग प्राविधिकलाई दिने पैसा नभएको उद्योग सञ्चालक शेर्पा बताउँछन् ।
उनका अनुसार, विपन्न तथा आर्थिक अवस्थाले कमजोर १३ व्यक्तिले धुपी सङ्कलन गर्न अनुमति पाएका थिए । सङ्कलित धुपी प्रति किलो सात रुपैयाँमा उद्योगले खरीद गर्दै आएको थियो । धुपी सङ्कलन गरेबापत प्रति किलो एक रुपैयाँ सामुदायिक वनको कोषमा जम्मा गर्नुपर्ने प्रावधान रहेको थियो ।
उद्योगमा उत्पादन भएको धुपी तेल बिक्री तथा बजारको लागि काठमाडाँैसम्म धुपी तेल लानुपर्छ । सो तेल काठमाडौँमा प्रतिलिटर तीन हजार ५ सय रुपैँयामा बिक्री हुन्छ। धुपी तेल विभिन्न सुगन्धका लागि सेन्ड, मालिस तेल, मगमगाउने धुपी, विभिन्न अगर बत्तीमा प्रयोग हुने गर्दछ । धुपीको तेल विभिन्न देशबाट पनि माग आउने गरेको शेर्पाले बताए ।
कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कार्यक्रम संयोजक जीतेन चेम्जोङले उद्योगलाई आवश्यक सामग्री उपलब्ध गराएको जानकारी दिएका छन् ।
उद्योग सञ्चालन गर्न आवश्यक उपकरण निःशुल्क उपलब्ध गराएर पनि दर्ता गरेर सञ्चालन गर्न नसक्नु सञ्चालकको कमजोरी भएको उनको भनाई छ। यस्तै, घरेलु कार्यालयका सूचना अधिकारी निजा भट्टराईले केही वर्ष अगाडि उद्योगको अवलोकन गर्न जाँदा उद्योग सञ्चालकले खर्च गर्नुपर्ने अवस्था आएको बताइन् । ‘तर अहिले उद्योग अवलोकन र प्राविधिक प्राविधिक खर्च उद्योग कार्यालयले गर्दछ; उनले भनिन् । रासस