काठमाडौँ – हाल संचालनमा रहेको राष्ट्रिय सहकारी बैंकले सहकारी संघ संस्थाहरुको आवश्यकता पूरा गर्न नसकेको भन्दै नेपाल सहकारी बैंकको स्थापनाको तयारी अघि बढेको छ । लालिगुराँस सहकारी बैंकका अध्यक्ष सुरेन्द्र भण्डारीको अध्यक्षतामा २५ सदस्यीय सञ्चालक समिति रहेको बैंक आज सहकारी विभागमा दर्ता भएको छ । बैंकले आगामी ३ महीनाभित्र कार्यालय स्थापना गरी सेवा शुरु गरिसक्ने योजना बनाएको बैंकका अध्यक्ष भण्डारीले बताए । भण्डारीकाअनुसार तत्काल बैंकमा १ हजार सहकारी संस्था सदस्यको रुपमा रहनेछन् भने आगामी १ वर्षभित्र १० हजार सदस्य बनाउने योजना बैंकको रहेको छ ।


ADVERTISEMENT


राष्ट्रिय सहकारी बैंकले सबै सहकारीलाई समेट्न नसकेको र समयको माग अनुसार परिमार्जित रुपमा सहकारी क्षेत्रलाई अघि बढाउनु पर्ने आवश्यकता भएकाले प्रतिस्पर्धीको रुपमा यो बैंकको स्थापना गर्न लागिएको जानकारी भण्डारीले दिए ।


ADVERTISEMENT

# # #


प्रस्तावित नेपाल सहकारी बैंकको अधिकृत पुँजी ५ अर्ब रुपैयाँ, जारी पुँजी २ अर्ब ५० करोड रुपैयाँ र चुक्ता पुँजी १ अर्ब रुपैयाँ बनाउन लागिएको छ । सहकारी बैंक स्थापना गर्नको लागि सबै प्रदेशको प्रतिनिधित्व हुने गरी कम्तिमा ५ सय १ वटा सहकारी संस्था संलग्न हुनुपर्ने कानुनी व्यवस्था छ । अहिलेसम्म नयाँ सहकारी बैंक स्थापनाको लागि ५ सय ५० भन्दा बढी सहकारी संघरसंस्थाहरु आवद्ध भइसकेका छन् ।

बैंकका लागि भण्डारीको अध्यक्षतामा २५ सदस्यीय संचालन समिति र तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति चयन गरिएको छ ।

संचालक समितिमा दुर्गा प्रसाद सापकोटा, नागेन्द्र कुमार, राजेन्द्र प्रसाद जयसवाल , विनोद कुमार दत्त, विदुर मान सिंह बस्नेत, दिनेश चुके, हरिमान अधिकारी, ध्रुव राज पौडेल, केशव प्रसाद लम्साल, ललित पहाडी, पदम दाहाल, तुलसा देवकोटा र काभ्रेबाट गिता सिग्देल दाहाल सदस्यमा चयन भएका छन् ।

यसैगरी शम्भु प्रसाद घिमिरे, राममान सिंह महर्जन, पुष्प बहादुर पौडेल, सिताराम काफ्ले, राजाराम बुढाथोकी, माधव दुलाल, सरद कुमार महर्जन, शशि खड्का, विनोद ढंगोल, डा. ज्ञानेन्द्र प्रसाद पौडेल र दिलिप पौडेल सदस्य रहेका छन् ।

प्रारम्भिक भेलाले कृष्ण मगरको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति गठन गरेको छ । समितिमा निधि प्रसाद तिमल्सिना र किशोर महर्जन सदस्य रहेका छन् ।