पर्वत – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक परिषद्का सदस्यहरु पार्टीको निर्देशनमा नभई संविधानअनुसार तटस्थ हुनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


पर्वतको मोदी गाउँपालिका–६ तिलाहार र वडा नं ७ राजम्दोउराली जोड्ने रतीखोला मोटरेबल पुलको आइतबार उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले परिषद्का सदस्यले कुनै पार्टी वा नेताको निर्देशनमा काम गर्न नहुने र आफूले कहिल्यै त्यस्तो नगर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


संवैधानिक निकायमा भएको नियुक्तिविरुद्ध सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा मुद्दा दायर गरेकोप्रति लक्ष्य गर्दै अध्यक्ष तिमिल्सिनाले सङ्घीय संसद्का दुई सदनमध्ये आफू पनि एउटा सदनको अध्यक्षका हिसाबले परिषद्को सदस्य भएकाले आफूले त्यस्तो नगर्ने बताए । उनले परिषद्को अध्यक्षका रुपमा प्रधानमन्त्रीले गरेको निर्णयलाई सबैले मान्नुपर्नेमा जोड दिए । उनले भने, “आफ्नो नेता वा पार्टीले के भन्छ होइन । परिषद्को बैठकमा भएका निर्णय मान्नुपर्छ । निर्णयमा चित्त नबुझे पनि अदालतमा जान हुँदैन । कानून बनाउने विषयलाई सभामुखले अड्काउने होइन, सहजीकरण गर्नुपर्छ ।”

अध्यक्ष तिमिल्सिनाले अदालतको निर्णय सबैले मान्नुपर्नेमा जोड दिँदै प्रतिनिधिसभा विघटनका विषयमा अहिले सर्वोच्च अदालतमा बहस भइरहेकाले अदालतको निर्णय नै सर्वेसर्वा हुने बताए । उनले अदालतलाई प्रभावित पार्ने काम कसैले गर्न नुहने बताउँदै अदालतको फैसलाका आधारमा आगामी चुनाव हुने-नहुने टुङ्गो लाग्नेसमेत बताए ।

अध्यक्ष तिमिल्सिनाले मुलुक विकास निर्माण र समृद्धिको युगमा अघि बढेको बताउँदै लामो समयको राजनीतिक अस्थिरतापछि अहिले मुलुकभर विकास निर्माणको लहर अघि बढेकले यसमा आम नागरिकले साथ, सहयोग र खबरदारी गर्नुपर्ने बताए । सडक, पुल, खानेपानी, सिँचाइ, स्वास्थ्य जस्ता पूर्वाधारहरु निर्माणले गति लिएको बताउँदै अध्यक्ष तिमिल्सिनाले अहिले निर्माणाधीन आयोजनाहरु सम्पन्न भएपछि मुलुक समृद्ध बन्ने बताए । उनले विकास निर्माणका कामहरुमा कुनै पनि पक्षले राजनीति गर्न नहुने बताउँदै सबैले एकमत भएर सहयोग गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री वसन्त नेम्वाङ, पूर्वसांसद पदम गिरी, जिल्ला समन्वय समितिका प्रमुख मनोहर विश्वकर्मा पौडेल, मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेललगायतले पुल निर्माणका लागि शुभकामना दिएका थिए ।

उक्त पुल निर्माणसँगै मोदी गाउँपालिकाका तिलाहार, चित्रे, राम्जा र आर्थरलगायतका वडाका नागरिकले बाह्रैमास सडक सुविधा पाउने भएका छन् । २०७२ सालदेखि निर्माण शुरु भएको उक्त पुल जग्गा विवाद, भूकम्प, कोरोनालगायत कारणले ढिलाइ भएको हो । कूल ७० मिटर लामो उक्त पुल रु १० करोड ४६ लाखको लागतमा निर्माण सम्पन्न भएको हो । दुईवटा स्पान रहेको पुलको चौडाइ नौ मिटर छ, जसमा एक दशमलब ७५ मिटर फुटपाथ रहेको छ । रासस