काठमाडौँ– सामाजिक सुरक्षा कोषमा सूचीकृत भएर नियमित योगदान गरिरहेका योगदानकर्ताले नागरिक एपमार्फत कोषले प्रदान गर्ने सम्पूर्ण सेवा अब मोबाइलबाटै लिनसक्ने भएका छन् । सरकारले प्रवाह गर्ने सेवालाई ‘डिजिटलाइज’ गरी एकीकृत ‘प्लेटफर्म’ मार्फत सेवा प्रवाह गर्ने लक्ष्यअनुसार नै कोषले प्रदान गर्ने सेवा मोबाइलबाट हातहातमै प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको कोषले जनाएको हो ।


ADVERTISEMENT


कोषका प्रवक्ता विवेक पन्थीले योगदानकर्ताले एपमार्फत आफ्नो नाममा जम्मा भएको योगदान रकमलगायत विस्तृत विवरण हेर्न सक्ने जानकारी दिए । योगदानकर्ताले कुन महिनामा कति योगदान रकम जम्मा भयो? भएन? कति प्रतिशत जम्मा भयो? भन्ने सम्पूर्ण विवरण सहजै मोबाइलबाटै हेर्न सक्नेछन् । उनका अनुसार, कोषले प्रवाह गर्ने सेवा पनि सोही एपमार्फत लिन सकिन्छ ।


ADVERTISEMENT

# # #


कोषले योगदानकर्तालाई विभिन्न किसिमका सुविधा उपलब्ध गराउँदै आएको छ । अब छिट्टै कोषले प्रदान गर्ने सेवाका लागि एपबाटै आवेदन दिन सक्ने व्यवस्था मिलाइने बताइएको छ । कोषले उपलब्ध गराएको सामाजिक सुरक्षा नम्बर राखेर एपमार्फत योगदानकर्ताले आफ्नो सम्पूर्ण विवरण हेर्न सक्नेछन् । यस विषयमा प्रवक्ता पन्थी भन्छन्; ‘सामाजिक सुरक्षा कोषको अनलाइन प्रणालीबाट योगदानकर्ताले हेर्न सक्ने सम्पूर्ण विवरण अब एपमार्फत आ–आफ्नो मोबाइलमा हेर्न सकिने छ ।’

योगदानकर्ताले कोषबाट कर्जा लिएको भए त्यसको विवरण, अन्य सेवा सुविधा लिएको भए पनि त्यसको सम्पूर्ण विवरण मोबाइलमै हेर्न सकिने छ । पहिलो चरणमा औपचारिक क्षेत्रमा सामाजिक सुरक्षा योजना लागू भएको र छिट्टै अनौपचारिक र स्वरोजगार श्रमिकलाई पनि योजनामा समेट्ने सन्दर्भमा यो एपको महत्व झन् बढ्ने उनको भनाई छ । ‘अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकलाई पनि कोषको दायरामा ल्याउने अवस्थामा योगदान रकम सङ्कलन गर्न मोबाइल एपले सहज गर्नेछ’ उनी भन्छन्; ‘एपबाटै निवेदन दिएर आफूलाई चाहिने सेवा सुविधा र विभिन्न शीर्षकको कर्जा आवेदन गर्न सकिनेछ ।’

हाल औपचारिक क्षेत्रका श्रमिकको योगदान रकम रोजगारदाताले नै कोषमा जम्मा गर्दै आएका छन् ।

अब कोषले प्रवाह गर्ने सेवालाई सहज र प्रविधिमन्त्री बनाउने उद्देश्यअनुरुप नागरिक एपमार्फत सर्वसुलभ ढङ्गले मोबाइलबाटै प्राप्त गर्न सकिन्छ । एपको प्रयोगबाट समयको बचत हुनाका साथै सार्वजनिक बिदाका दिन पनि सेवा प्राप्त गर्न सकिने कोषले जनाएको छ । कोषमा जम्मा भएको योगदान रकम तथा अन्य सम्पूर्ण विवरणको जानकारी सहजै लिन कोषले सम्पूर्ण योगदानकर्तालाई नागरिक एप डाउनलोड गरी सेवा प्राप्त गर्न अनुरोधसमेत गरेको छ ।

‘लाइन होइन, अनलाइनबाटै २४ सै घन्टा सरल, सहज र प्रभावकारी सेवाका लागि नागरिक एप’ भन्ने नाराका साथ सरकारले आम नागरिकलाई सहजरुपमा सरकारी सेवा उपलब्ध गराउन एप सार्वजनिक गरिसकेको छ । नागरिक एपबाट सेवा प्राप्त गर्नका लागि एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले ‘‘प्लेस्टोर’ र आइफोन प्रयोगकर्ताले ‘एपस्टोर’ बाट उक्त एप डाउनलोड गर्नुपर्नेछ । हाल आफ्नै नाममा दर्ता भएको नेपाल टेलिकम र एनसेलको सीममार्फत उपभोक्ताले एपको प्रयोग गर्न सक्नेछन्।

एक लाख ८८ हजार कोषमा सूचीकृत

गत बिहीबारसम्म कोषमा एक लाख ८८ हजार ४५० योगदानकर्ता सूचीकृत भएको छन् । वाग्मती प्रदेशबाट एक लाख ४१ हजार १०१, प्रदेश १ बाट १९ हजार ४४४, प्रदेश २ बाट १३ हजार ६९५, गण्डकीबाट सात हजार ७६, लुम्बिनीबाट पाँच हजार ९६८, सुदूरपश्चिमबाट ६८८ र कर्णाली प्रदेशबाट ४६० योगदानकर्ता कोषमा आबद्ध भएका छन् ।

कोषमा हालसम्म रु. चार अर्ब पाँच करोड ६६ लाख योगदान रकम सङ्कलन भएको छ र, तीन करोड ४९ लाख दाबी भुक्तानी भएको कोषले जनाएको छ । रासस