काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग गएर आगामी प्रतिनिधिसभा निर्वाचन तयारीबारे जानकारी लिएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ओली आगामी प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा आयोगले गरिरहेको तयारीबारे जानकारी लिन आयोग गएको जनाएको हो ।


ADVERTISEMENT


सो अवसरमा प्रमुुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उनलाई निर्वाचनको तयारी, शान्ति सुरक्षा र बजेटलगायत समग्र वस्तुस्थितिबारे अवगत गराएका थिए।


ADVERTISEMENT

# # #


सरकारले आगामी वैशाख १७ र २७ गते दुई चरणमा चुनाव गर्ने गरी पुस ५ गते नै निर्वाचनको मिति घोषणा गरेको थियो ।

प्रधानमन्त्री ओलीले प्रमुख आयुुक्तसहितका आयुक्तसँग निर्वाचनको तयारीबारे छलफल गरेको र आयोगले गरिरहेको तयारी सन्तोषजनक रहेको भनी धन्यवाद ज्ञापन गरेको प्रेस सल्लाहकार थापाले बताए ।

निर्वाचनको कामलाई निरन्तर अघि बढाउन आयोग पदाधिकारीलाई सुुझाव दिँदै प्रधानमन्त्री ओलीले सोका लागि सबै प्रकारका स्रोतसाधन उपलब्ध हुुने तथा कुनै कमी हुन नदिइने विश्वास दिलाएका छन् ।

सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवाद सम्बन्धमा थपलियाले यही माघ ११ गते एउटा निर्णय दिइसकेकामा माघ २० गते अर्को निवेदन पनि प्राप्त भएको जानकारी गराए ।

प्रधानमन्त्री ओलीले त्यस विषयमा निर्वाचन कानून, हिजोका अभ्यासलगायत धेरै विषयका सन्दर्भमा जानकारी राख्दै जिज्ञासा माग गरेका थिए । प्रधानमन्त्री ओलीले मू लतः निर्वाचनको तयारी सम्बन्धमा नै आयोगले गरिरहेको कामको जानकारी लिनका निम्ति गएकाले त्यसमा नै केन्द्रित रहेर छलफल भएको सल्लाहकार थापाले स्पष्ट पारे ।

प्रधानमन्त्रीका साथ उपप्रधानमन्त्री, अर्थमन्त्री, कानून, न्याय तथा संसदीय मामिलामन्त्री तथा दलका तर्फबाट निर्वाचनसम्बन्धी जिम्मेवारी र सम्पर्क तोकिएका पूर्वसभामुख सुवास नेम्वाङलगायत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता आयोग समेत आयोग पुगेका थिए। रासस