रामकुमारी झाँक्री

बोल्न पाइन्छ । हामीले ल्याएको व्यवस्थामा बोल्न पाइन्छ । नागरिकको मुखमा टेप टाँसिएको छैन । सर्वसत्तावादकोविरुद्ध बोल्न पाइन्छ । संविधानको चीरहरण गर्नेका विरुद्ध बोल्न पाइन्छ । संविधान र कानुनी राज्यको खिलापमा सेटिङ र बन्द कोठाभित्र भएका अध्याँरा षड्यन्त्रको विरुद्ध बोल्न पाइन्छ ।


ADVERTISEMENT

# # #


वि. सं २००७ सालदेखि २०४६ साल, ६२/६३ सालसम्मका ऐतिहासिक क्रान्तिहरुले भन्छन्, नागरिकहरु सार्वभौम सम्पन्न हुन् । त्यसकारण नागरिकको बोल्न पाउने अधिकारलाई कसैले पनि कुण्ठित गर्न सक्दैन । त्यसैले बोल्न पाइन्छ ।

हामी यहाँ छौँ । यो हामीले ल्याएको व्यवस्था हो । आज दरबारमाजस्तै रजाईं गर्नेहरु संघर्षका कठिन दिनहरुमा कहाँ थिए दुनियाँलाई हिसाब किताब थाहा छ । त्यसकारण हाम्रो व्यवस्थाभित्र, हाम्रो रगत र पसिनाभित्र हजारौँ शहीदहरुको बलिदानभित्र र हजारौँ घाइते र बेपत्ता परिवारको बलिदानीभित्र प्राप्त गरेका यी उपलब्धीहरुलाई एकै रातमा एउटा जंगी कागजी बादशाहले च्यातचुत पारेर संविधानको बर्खिलाप गर्ने प्रणालीको विरुद्ध बोल्छौँ । हामी बोल्न जन्मेका हौँ ।

नागरिकको सार्वभौम अधिकारलाई रक्षा गर्न बोलेका हौँ । त्यसकारण आज हामी यहाँ छौँ । त्यसैले आज काठमाडौँका मध्य सडकका पेटीहरुमा छरपस्ट मानवसागरले भन्छ, खड्गप्रसाद ओली कागजी बादशाह हुन् । ती ढलिसके, अब अन्तिम घोषणा गर्न बाँकी छ । जब बादशाह या तानाशाहले आफ्नो कद घटाउँदै घटाउँदै जान्छन्, त्यतीबेला राज्यको सम्पत्तिको दोहन गर्दै कागजका अग्लाअग्ला कदका प्रतीमा मात्रै होइन, बुख्याँचाहरु बनाउँछन् । खड्गप्रसाद ओलीले त्यही गरेका छन् ।

यो अधोगति हो । त्यसकारण यहाँ केही चार्जहरु छ, हामीलाई बोल्न पाइँदैन भन्ने । कार्यकारी प्रधानमन्त्रीको एउटा कोठाको सहायकजस्तै प्रधानमन्त्री या मन्त्रीपरिषद्का निर्णयलाई खुसुक्क सहीछाप गर्ने सम्माननीय राष्ट्रपति, यो राष्ट्रपति सम्मानीय पद होइन, संस्था हाम्रो बलिदानीले प्राप्त संस्था हो, हाम्रो शिरमाथिको संस्था हो । तर, त्यो संस्थाकाविरुद्ध बोल्ने दुस्साहस गरेको छैन मैँले । त्यो संस्थामा कुनै व्यक्तिले निर्वाचनको प्रक्रियाबाट गएर निरंकुशताको साक्षी बस्छ र त्यसको एउटा व्याधा बन्छ भने त्यस्ता पात्रको विरुद्धमा बोल्न पाइन्छ । कसले भन्छ बोल्न पाइँदैन भनेर ?

एउटा खलपात्रको विरुद्ध बोल्दै गर्दा कसले भन्छ यहाँ महिला अस्मिता मिचियो भनेर ? बोल्न पाइन्छ । महिला अस्मिता त त्यतीबेला बलात्कृत भएको छ, जहाँ भागिरथी भट्टजस्तै, निर्मलापन्त जस्तै कलिला किशोरीहरुको बलात्कार र हत्या भएको छ, त्यतीबेला महिला अस्मिता बेचिएको छ, खण्डित भएको छ । त्यसकारण तानाशाह बन्दै गरेको एउटा अहंकारी, कसैलाई नमान्ने, सबै कुराको सर्वज्ञानी, सन्की प्रधानमन्त्रीको प्यादा बन्ने व्यक्तिकाविरुद्ध बोल्न पाइन्छ । यहाँनेर महिला अस्मिताको प्रश्न आउँदैन । कुनैपनि पदमा लिंग हुँदैन । त्यो सार्वजनिक पद हो । त्यसैले बोल्न पाइन्छ । आज, १८ वर्षसम्म विद्या भण्डारीले एउटा प्राइभेट कम्पनी बनाएको अनेमसंघ (अखिल नेपाल महिला संघ) भन्ने संस्था छ । त्यसका सदस्यहरुले महिला अस्मिताको गफ गर्दैछन् । मलाई सुन्न, पढ्न र हेर्न मन छ, भागिरथीका हत्यारालाई कारबाही गर भनेर गृह मन्त्रालय पुगे कि पुगेनन् ? मलाई प्रश्न गर्न मन छ ।

एउटा सानो निवेदन गर्न चाहन्छु कि न्यायाललयका बारेमा आज सर्वोच्च अदालतमा संसद विघटनको पक्षमा भइरहेका बहस सुन्दै गर्दा र आजको यो हाम्रो उपस्थिति देख्दै गर्दा संसद पुनर्स्थापना नहुने कुरै छैन । यदि संसद पुनर्स्थापना भएन भने यहाँ खड्गप्रसाद ओलीको पक्षबाट प्रतिवाद गरेको विद्वान अधिवक्ताहरुले भनेजस्तै प्रधानमन्त्रीसँग एउटा अचम्मको अधिकारमात्रै हुनेछ । जुन कानुनमा, संविधानमा लेखिएको हुनेछैन । यो व्यवस्थाको हामी खिलापमा छौँ । सर्वोच्च अदालतले कानुनसम्मत, संविधानसम्मत फैसला गर्नेछ भन्ने हामीलाई विश्वास छ । यदि यो विश्वास डग्मगायो भने न्यायालय राज्यको शक्तिपृथकीकरणको सिद्धान्तको आधारमा बनेको संस्थाको औचित्य समाप्त हुनेछ ।

जाँदाजाँदै म भन्न चाहन्छु, यो खड्गप्रसाद एउटा व्यक्ति होइन, हामी व्यक्तिकाबारेमा बोलिरहेका छैनौँ, यो संस्कृति हो र प्रवृत्ति हो । प्रचण्ड, माधव नेपाललाई म भन्न चाहन्छु, यहाँहरु हजारौँलाई साक्षी राखेर यो लडाईं हामी जित्नेछौँ र जितिसकेका छौँ, अब खड्गप्रसाद ओली प्रवृत्ति कहिल्यै नदोहोरिने व्यवस्थाको सुनिश्चितताका लागि यही मन्चबाट तपाईंहरुले घोषणा गर्नुहोस् । हाम्रो यो लडाईं खड्गप्रसाद ओली प्रवृत्तिका विरुद्ध हो । लोकतन्त्र र न्यायको पक्षमा हो । यही न्यायको पक्षमा आएका हजारौँ जनताहरुलाई साक्षी राखेर आज हामीले यही घोषणा यहाँबाट सुन्न चाहेका छौँ । न कि एउटा पात्रको विरोध । यो विरोध होइन ।

(नेतृ झाँक्रीले बुधबार काठमाडौँमा नेकपा प्रचण्ड–माधव समूहले गरेको वृहत सभालाई गरेको सम्बोधनमा आधारित)

प्रतिकृया

प्रतिकृया